काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले नेपालमा हुँदा खाने र हुने खाने दुई वर्ग भए पनि दुवै वर्ग देशमा नबस्ने गरेको बताएका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठकमा सांसद सिंहले हुँदा खानेहरू बाध्यताले मलेसिया र कतार जाने गरेको भन्दै हुनेखानेहरू देखाउनकै लागि अमेरिका, अस्ट्रेलिया बस्ने गरेको बताए ।
‘यो देशमा हुने खाने र हुँदा खानेहरू छन् । तर, दुवै वर्ग यो देशमा बस्दैनन्,’ नेपाली काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र निर्वाचित भएर आएका सांसद सिंहले भने, ‘हुँदा खानेहरू बाध्यताले मलेसिया, कतारसहितका राष्ट्रमा जान्छन् । हुनेखानेहरू अमेरिका, अस्ट्रेलिया जान्छन् ।’
उनले कोही नबस्ने देश बन्न पनि मुस्किल हुने तर्क गरे । उनले लोकतन्त्रको सही अर्थमा कार्यान्वयन नहुँदा जनतामा निराशा बढिरहेको बताए ।
‘लोकतन्त्रको अर्थ जनतन्त्र हो । तर, हामीले लोकतन्त्रको ठाउँमा दल तन्त्र लाद्ने काम गर्यो । पुराना पार्टीमा बिचौलिया तन्त्र हाबी छ । संस्थाहरूलाई बलियो बनाउने काम भएको छैन । व्यक्तिको बोलवाला चलिरहेको छ,’ सिंहले राजनीतिका विकृतिबारे भने, ‘यहाँ विकास र सुशासन किन आउँदैन भने नियमनकारी निकायमै बिचौलिया बसेका छन् । अर्थ मन्त्रालयमै बिचौलिया बसेका छन् ।’
उनले संस्थाहरू कमजोर हुँदा लोकतन्त्र धारासायी भएको भन्दै सत्य बोल्नेलाई पार्टीबाट मात्र होइन, संसारबाटै अलप बनाउने प्रयास हुँदै आएको बताए ।
‘संस्थाहरू कमजोर भए । एउटा किताब लेखेपछि डोरबहादुर विष्ट बेपत्ता पारिएका छन्,’ सिंहले भने, ‘अरू पनि कसैले सत्य कुरा राख्छ भने उ बिचौलियाको तारो बन्न पुग्छ ।’ उनले शिक्षा र स्वास्थ्यमा जनताको पहुँच नपुर्याउने र किसानका समस्यालाई प्राथमिक नमान्ने हो भने देश बन्न नसक्ने बताए ।
‘जबसम्म शिक्षामा समान पहुँच हुँदैन, तबसम्म देश बन्न सक्दैन । जबसम्म स्वास्थ्यमा आम जनताको पहुँच स्थापित हुँदैन, तबसम्म देश बन्दैन,’ सिंहले थपे, ‘जबसम्म किसानका आवश्यकता पूरा गर्न सकिँदैन, तबसम्म देश बन्दैन । जबसम्म किसानले मल बिउ र उपकरण पाउँदैनन्, देश आत्मनिर्भर पनि बन्न सक्दैन ।’