काठमाडौँ । प्रहरीले ३३ किलो चरेससहित काठमाडौँबाट ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका-२ घर भएका ६४ वर्षीय अल्कबहादुर तामाङ, धादिङको थाँक्रे गाउँपालिका-२ घर भएकी २७ वर्षीया स्यानी चेपाङ, २८ वर्षीया पम्फे चेपाङ र भारत घर भएर नागार्जुन बस्ने ६५ वर्षीया सारप ग्याल्तसेन छन् ।
काठमाडौँको नागार्जुन र चन्द्रागिरीबाट आरोपीहरूलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी विकाशराज खनालले बताए । पक्राउ परेकाहरूको साथबाट ३३ किलो लागुऔषध चरेस बरामद गरिएको छ ।
चन्द्रागिरि स्थित देउराली भन्ज्याङ घर भएका अल्कबहादुरको साथबाट १० किलो र भारतीय नागरिक सारपको डेराबाट २३ किलो बरामद गरिएको छ । स्यानी चेपाङ र पम्पे चेपाङले सो लागुऔषध धादिङबाट काठमाडौँसम्म ल्याएर दिएको ब्यूरोको अनुसन्धानबाट थाहा भएको छ । बरामद गरिएको चरेशको बजार मूल्य १८ लाख १५ हजार पर्छ ।