काठमाडौँ । नेपाली काँग्रेसले समानुपातिकतर्फबाट सांसदहरूको नाम टुङ्गो लगाउने जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ।
शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रवक्ता डा। प्रकाशशरण महतले समानुपातिक सांसदहरूको टुङ्गो लगाउने विषयमा धेरै तलमाथि नरहेको बताए।
उनले वरियता क्रम सुरुदेखि नै निर्धारण गरिएको भन्दै समानुपातिकको बन्द सूची बुझाउँदा निर्धारण गरिएको प्राथमिकतालाई ध्यानमा राखेर नै सांसदहरु चयन हुने स्पष्ट पारे।
महिलाको एक तिहाइ संख्या पुर्याइसकेपछि पुरुषतर्फ पनि आवश्यकताअनुसार सांसदहरु चयन गर्ने उनको भनाइ छ। प्रवक्ता महतले पार्टी सभापतिले पार्टीका पदाधिकारीहरूसँग थप छलफल गरेर मात्रै समानुपातिक सूचीको अन्तिम टुङ्गो लगाउने उल्लेख गरे।