काठमाडौँ । कञ्चनपुरको बेदकोट नगरपालिकामा पशुचौपाया खाडलमा गाडेको अवस्थामा भेटिएपछि स्थानीयबासिन्दाले त्यसको विरोधमा प्रदर्शन गरेका छन् ।
छाडा चौपाया व्यवस्थापनको माग गर्दै महिलाहरू आन्दोलित भएका बेला मङ्गलवार बेदकोट-३ को चोरपानीमा पशुचौपाया गाडिएको पाइएपछि बुधबार फेरि स्थानीय बासिन्दाले नगरपालिका कार्यालय घेराउ गरेका छन् ।
मेयर भोजराज बोहरासहितका जनप्रतिनिधिविरुद्ध नाराबाजी गर्दै स्थानीयबासिन्दाले नगरपालिका कार्यालय घेराउ गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले स्थानीय छाडा पशुचौपायासहित नगरपालिका कार्यालय घेराउ गरेको बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट अवस्था नियन्त्रणका लागि टोली खटाइएको छ ।
बिहान तनाव सिर्जना भए पनि अहिले अवस्था शान्त रहेको प्रहरीले जनाएको छ । वेदकोटमा तीन दिनदेखि छाडा पशुचौपाया व्यवस्थापनको माग गर्दै स्थानीय महिलाहरूले नगरपालिकाविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरू पशुचौपायाले अन्नबाली खाएर हैरान बनाएको भन्दै उचित व्यवस्थापनको माग गरेका छन् ।
आन्दोलनपछि नगरपालिकाले सोमबार राति पशुचौपायालाई ट्रकमा हालेर वडा नम्बर ६ को मुसेपानीमा स्थापना गरेको गौशालामा लगेको थियो । तर मङ्गलवार भने ती पशुचौपाया गौशालाबाट अज्ञात समूहले निकालिदिएको नगरपालिकाको दाबी छ । मेयर बोहराले मृत भेटिएका चौपायाका विषयमा जानकारी नभएको बताए पनि स्थानीयबासिन्दाले भने नगरपालिकाले मारेर गाडेको आरोप लगाएका छन् ।