काठमाडौँ । कञ्चनपुरको मझगाउँमा निर्माण गर्ने भनिएको विमानस्थल जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा अलपत्र परेको छ ।
विमानस्थलको दक्षिणतर्फ रत्न वाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जग्गा विमानस्थलले नपाउँदा निर्माणको काम स्थगित भएको हो ।
विमानस्थलको लम्बाइ करिब एक हजार मिटर छ । उक्त क्षेत्रमा धावनमार्ग निर्माण अधुरै छ । रत्न वाटिका र सेनाले भोगचलन गरिरहेको जग्गासहित विमानस्थलको धावनमार्गको लम्बाइ एक हजार पाँच सय २५ मिटर पुग्छ । तर अहिले धावनमार्गको लम्बाइ एक हजार मिटर मात्रै छ । तर जमिनको भोगाधिकार विमानस्थलका नाममा नहुँदा धावनमार्ग निर्माणको काम रोकिएको विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले बताए ।
उनले सेनाले भोगचलन गरिरहेको जमिनको भोगाधिकारका लागि मन्त्रालयमा प्रक्रिया अघि बढेको जानकारी दिए ।
जग्गा प्राप्तिका लागि तीन वटा मन्त्रालयसँग समन्वय गरेर निर्णय गर्नुपर्नेमा ढिलाइ भइरहेको उनको भनाइ छ । उनले यसका लागि मन्त्रिपरिषद्बाट निर्णय हुन बाँकी रहेको बताए ।
यसअघि सेनाका मातहतमा रहेको जग्गा विमानस्थललाई दिने सहमति भएको थियो । उनका अनुसार राजपत्रमा उक्त जग्गा विमानस्थलका लागि छोडिएको उल्लेख भए पनि सेनाका नाममा लालपुर्जा छ । कञ्चनपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रमेश लेखकले विमानस्थल निमार्णको काम अघि बढाउन पहल भइरहेको बताए ।
उनले निर्वाचनको बेला उम्मेदवारहरूले विमानस्थल सञ्चालनको आश्वासन दिएको बताए ।
भीमदत्त नगरपालिकाको १५, दोधारा चाँदनी नगरपालिकाको १०, सुदूरपश्चिम प्रदेश सरकारको २५ र नागरिक उड्डयन प्राधिकरणको ५० प्रतिशत गरी तीनै तहको साझेदारीमा विमानस्थल निर्माण भइरहेको हो । तीन वर्षभित्र निर्माण सक्ने गरी कान्छाराम-केएस-उमा एन्ड कम्पनीसँग ४५ करोड ६६ लाख रुपैयाँमा सम्झौता भएको छ ।
पहिलो चरणमा धावनमार्गसँगै ट्याक्सी वे र एप्रोनलगायतको काम हुनेछ । दोस्रो चरणमा टर्मिनल भवनदेखि पहुँचमार्ग निर्माण गरिने आयोजनाले जनाएको छ । विसं २०३४ देखि ०५७ सम्म सञ्चालनमा रहेको उक्त विमानस्थल सङ्कटकालका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो ।