काठमाडौँ । मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका सुनिल शर्माले जनता भोक र रोगले ग्रस्त हुँदा कमिशन खानेहरूले मुलुक बर्बाद पारेको बताएका छन्।
मंगलबार मोरङ क्षेत्र नम्बर ३ मा आयोजित घरदैलो कार्यक्रममा शर्माले कोभिड १९ महामारीको समयमा औषधि उपकरण खरिदमा कमिशन खानेहरूले जनताको स्वास्थ्य र मुलुकलाई बर्बाद गरेको आरोप लगाएका हुन्।
घरदैलोका क्रममा उम्मेदवार शर्माले निर्वाचनमा विजयी भएपछि राज्यबाट पाउने संसदीय तलब सुविधासमेत नलिने घोषणा गरे। राजनीतिलाई पेशाभन्दा पनि जनताको सेवाको रूपमा लिँदै आएको बताएका शर्माले आफू समाज र राष्ट्रलाई बलियो र समृद्ध बनाउनका लागि उम्मेदवार बनेको बताए।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा पराजित भए पनि यसपटक स्थानीय जनताले आफूलाई जित्ने आधार तयार बनाएको बताएका शर्माले विगतमा जितेर गएकाहरू घुस र भ्रष्टाचारतर्फ केन्द्रित हुँदा जनताको चाहना पूरा हुन नसकेको बताए।
धेरैको मनोभावना निर्वाचित भएपछि आर्थिक रूपमा सम्पन्न हुने र रकम कमाउने ध्याउन्न हुने गरेको भए पनि आफू राज्यले प्रदान गर्ने सेवा, तलब सुविधा नलिने उनको भनाइ छ ।
उनले भने, ‘जनता भोक र रोगले छटपटाइरहेका बेला पनि कमिशन खानेहरू छन्। मुलुक तिनैले बर्बाद बनाए। जनताको हातमा फैसला गर्ने बेला आएको छ, जनता न्यायाधीश भएकाले अब जनताले भ्रष्टलाई चोट दिनु पर्नेछ।’
संयुक्त लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार शर्मा चुनावी घरदैलो र कोणसभा अभियानमा रहेका छन्। सो क्षेत्रमा प्रदेश सभा (१) मा नेपाली काँग्रेसका निवर्तमान प्रदेशसभा सदस्य शेखरचन्द्र थापा र प्रदेश सभा (२) तर्फ नेकपा एकीकृत समाजवादीका लक्ष्मीकुमार श्रेष्ठ उम्मेदवार रहेका छन्। थापा स्वास्थ्य अवस्था प्रतिकूल रहेका कारण उपचाररत छन्।
मोरङ क्षेत्र नम्बर ३ (१) मा ७२ हजार ५ सय ९० र (२) मा ७७ हजार २ सय ३९ गरी कुल १ लाख ४९ हजार ८ सय ३३ मतदाता रहेका छन्।
मोरङ क्षेत्र नम्बर ३ को प्रतिनिधि सभातर्फ नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकाल, राप्रपातर्फबाट नायिका रेखा थापा रहेका छन्। २०७४ सालको निर्वाचनमा ढकालले काँग्रेस उम्मेदवार शर्मालाई १ हजार ९ सय ७ मतको अन्तरले पराजित गरेका थिए।