काठमाडौँ । सत्तारुढ दल वडा तहदेखि प्रधानमन्त्रीसम्म भ्रष्टाचारमा डुबेको आरोप जनमत पार्टीका अध्यक्ष सिके राउतले लगाएका छन्।
विराटनगरमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष राउतले मुलुकमा हुँदै आएको भ्रष्टाचारको ठूलो समस्यामा राजनीतिक दल नै रहेको बताए।
भ्रष्टाचारलाई प्रश्रय दिँदै आएका राजनीतिक दलले मुलुक र जनतालाई दशकौँबाट उत्पीडनमा राख्दै आएको राउतले बताएका थिए।
उनले भने, ‘यहाँ लामो समय राणाहरूले, राजारजौटाले, राजनीतिक दलले शासन गरे। तर, आजसम्म जनता अधिकार र आधारभूत सेवा सुविधाबाट वञ्चित गरिँदै आए। काँग्रेस, कम्युनिस्टले शासन गरे पनि जनतालाई आधारभूत मागको पूर्ति गराउन सकेनन्। त्यसैले जनमत पार्टी अघि आएको हो।’
सभामा राउतले दलकै कारण युवा बेरोजगार हुँदै रोजगारीका लागि बिदेसिन बाध्य हुनुपरेको बताए।
जनमतले प्रतिनिधि सभातर्फ मोरङको क्षेत्र नम्बर ५ र ६ मा समान १ जना उम्मेदवार प्रस्तुत गरेको छ। त्यसैगरी, मोरङ क्षेत्र नम्बर २, ५ र ६ मा गरी ४ जनालाई प्रदेशसभा सदस्यमा उम्मेदवार बनाएको छ।