काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ।
एन्फाले मङ्गलवार मैत्रीपूर्णका लागि कटुवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको जनाएको छ। एन्फाका अध्यक्ष पङ्कज विक्रम नेम्वाङले कटुवाललाई नियुक्ति पत्र दिएका थिए।
कटुवालले मछिन्द्र फुटबल क्लबलाई ए डिभिजन लिगको उपाधि जितेका छन्। नेपालले नोभेम्बर १६ (कात्तिक ३०) मा पाकिस्तानसँग दशरथ रङ्गशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ। मैत्रीपूर्ण खेल साँझ ५ बजे हुने एन्फाले जनाएको छ।
फिफाको निलम्बन फुकुवासँगै आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तान नेपाल आउन लागेको हो। निलम्बन फुकुवापछि पाकिस्तानको सिनियर पुरुष टिमको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएपछि नेपाल नियमित मुख्य प्रशिक्षकविहीन छ।