काठमाडौँ । नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीको बैठकमा नेकपा एकीकृत समाजवादीका स्थायी समिति सदस्य विरोध खतिवडाले सम्बोधन गरेका छन् । आइतबार सम्पन्न विस्तारित बैठकमा सत्ता गठबन्धनबाट मकवानपुर क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका खतिवडाले सम्बोधन गरेका हुन् ।
माओवादी केन्द्रको समेत समर्थनमा उम्मेदवार रहेका खतिवडाले बैठकमा आफूले प्रचारको लागि भन्दा पनि साँचो विकासको लागि प्रतिबद्ध भएर काम गरेको दाबी गरे । नेता खतिवडाले केपी ओलीको प्रतिगमनविरुद्ध एक भएर लड्नका लागि विगतमा परिवर्तनका आन्दोलनमा सँगै भएका दलहरूका बीचमा गठबन्धन भएको बताए ।
नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चालगायत दलहरू अग्रगमनकारी गठबन्धन र राजतन्त्रवादी, देश विखण्डन गर्न खोज्ने दलसँग केपी ओली नेतृत्वको एमालेको प्रतिगमनकारी गठबन्धनबीच अहिले चुनाव हुन लागेको उनले बताए । आफू गठबन्धनको साझा उम्मेदवार भएकाले चुनाव जिताउने मिसनमा निर्धक्कले लाग्न बैठकमा उनले आग्रह गरे ।
यस्तै, माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य, मकवानपुर इन्चार्ज एवं प्रदेशसभा तर्फको मकवानपुर २ (क) की सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी कुमारी मोक्तानले आफूले जनहित विपरीत कुनै काम नगर्ने दाबी गरिन् । उम्मेदवार मोक्तानले जनभावना अनुसार संस्थागत रूपमा योजना बनाई विकासका योजना ल्याउने बताइन् । उनले लामो सङ्घर्षका कारण व्यवस्था परिवर्तन भएको र अब अवस्था परिवर्तनको लागि गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह पनि गरिन् ।