काठमाडौँ । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-९ सिसैयाका भरतबहादुर रावल राजनीतिमा होमिएका लामो समय भइसकेको छ । राजनीतिसँगै व्यापारमा पनि उत्तिकै सक्रिय रावलको दैनिकी चुनाव नजिकिएपछि भने फेरिएको छ ।
हरेक दिन बिहान र साँझ चुनावी प्रचारप्रसारमा व्यस्त रहने उनी दिउँसो भने व्यापार सम्हाल्छन् । रावलले पछिल्लो एक दशकदेखि व्यापार र राजनीतिलाई एकै साथ अगाडि बढाइरहेका छन् ।
आगामी मङ्सिर ४ मा हुन लागेको प्रदेशसभाको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीकातर्फबाट कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ (१) बाट उम्मेदवार हुनुहुन्छ ।
रावलको जीवन जति सामान्य छ त्यति नै सामान्य उनको चुनावी प्रचारप्रसार शैली पनि छ । उनी एक्लै मोटरसाइकलमा चुनाव चिह्न अङ्कित झण्डा फहराउँदै बस्ती-बस्तीमा पुग्छन् । प्रत्येक घरमा चुनावी मुद्दा सुनाउँदै मत माग्छन् ।
रावलका प्रतिस्पर्धीमा नेकपा (माओवादी केन्द्र)का ओमबिक्रम भाट, नेकपा (एमाले)का बचनबहादुर सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीका चन्द्रकान्त भण्डारी, लोसपा (नेपालका जगन्नाथ केसी, नागरिक उन्मुक्ति पार्टीका गीता चौधरी र स्वतन्त्र उम्मेदवार टेकबहादुर हमाल छन् ।