काठमाडौँ । अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले अजरबैजानसँग जारी युद्धमा सोमबारदेखि एक सयभन्दा बढी आर्मेनियाली सैनिक मारिएको दाबी छन् । अजरबैजानले पनि यस युद्धमा आफ्ना ५० सैनिक मारिएको बताएको छ । पछिल्लो द्वन्द्वका लागि दुवै देशले एकअर्कालाई दोषारोपण गरिरहेका छन् ।
आर्मेनियाको संसद्लाई सम्बोधन गर्दै प्रधानमन्त्री पशिन्यानले यस द्वन्द्वमा हालसम्म १०५ आर्मेनियाली सैनिक मारिएको दाबी गरेका छन्, जसको लागि उनले अजरबैजानलाई जिम्मेवार बताएका छन् । पशिन्यानले यस हप्ता अजेरी सेनाले १० वर्ग किलोमिटर आर्मेनियाली भूमि कब्जा गरेको र लामो समयको सहयोगी रुससँग सैन्य सहयोग मागेको दाबी गरेका छन्।
उता अजरबैजानले आर्मेनियाको दाबीलाई अस्वीकार गरेको छ । अर्मेनियाले आफ्नो काल्बाकर जिल्लामा अवस्थित सैन्य आधारहरूमा गोलाबारी गरेर यो द्वन्द्व सुरु गरेको आरोप लगाएको छ । अजरबैजानले आर्मेनियामा रहेका रूसी एफएसबी सुरक्षा सेवाका सवारीसाधनमा आक्रमण गरेको समाचारलाई पनि खण्डन गरेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अजरबैजानका रक्षामन्त्रीले आफ्नो सेनाले जवाफी कारबाही गरिरहेको बताएका छन्।
अमेरिका र रुसले दुवै देशलाई तनाव कम गर्न अपिल गरेका छन् । दुई देशबीच सैन्य झडप भएको यो पहिलो पटक भने होइन । यसअघि सन् २०२० मा पनि दुई देशबीच भीषण युद्ध भइसकेको छ, जुन रुसको मध्यस्थतापछि रोकिएको थियो ।