काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लाखौँ करोडौँ मानिसका बीचमा रहे पनि अहिले एक्लो महसुस हुन थालेको बताएका छन् ।
मंगलबार काठमाडौँमा माओवादी केन्द्रका नेता सुदन किराँतीको जेल जीवनको अनुभवमा आधारित पुस्तक ‘पल पलको मृत्यु’को लोकार्पण गर्दै अध्यक्ष प्रचण्डले एक्लो महसुस भएको बताएका हुन् ।
जनयुद्धका बेला सिङ्गो मानव जातिको लागि काम गरेको अनुभूति भएको भए पनि अहिले एक्लो महसुस हुन थालेको उनले बताए ।
प्रचण्डले जीवनको बोध हुन छोडेको र स्वार्थका लागि काम गरिरहेका त छैनौँ ? भन्ने अनुभूति हुन थालेको समेत जिकिर गरे । अहिलेको अवस्था जे-जस्तो भए पनि समाजवादको यात्रा भने अहिले पनि नछाडेको उनले बताए ।
प्रचण्डले जनयुद्ध र शान्ति सम्झौतासँग सम्बन्धित हजारौँ यथार्थमा आधारित पक्ष रहे पनि यथार्थमा उत्खनन् हुन नसकेको र यसको महत्त्वलाई बुझाउन नसकिएको धारणा राखे ।
आधुनिक नेपाल निर्माणमा जनयुद्धको महत्त्वलाई कसैले भुल्न नहुने प्रचण्डको भनाइ छ । उनले युद्धमा सहभागीहरूलाई जति शान्तिको महत्त्व अरूलाई नहुने टिप्पणी पनि गरेका छन् ।