नेपालगञ्ज उपमहानगरमा गठबन्धन र एमालेको उम्मेदवारी दर्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपालगञ्ज उपमहानगरमा गठबन्धन र एमालेको उम्मेदवारी दर्ता


१२ बैशाख २०७९, सोमबार


नेपालगञ्ज । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत बाँकेमा नेपाली काँग्रेससहितका गठबन्धन दलका तर्फबाट र नेकपा (एमाले) ले आज यहाँ उम्मेदवारी दर्ता गराएका छन् ।

सो क्रममा नेकपा एमालेका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिका प्रमुखका लागि पशुपति दयाल मिश्र र उपप्रमुखमा शान्ति ढकालले मनोनयन दर्ता गराएका हुन् । उनीहरु दुवै एमालेका केन्द्रीय सदस्य छन् ।

त्यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका प्रशान्त विष्टले प्रमुख र उपप्रमुखमा जनता समाजवादी पार्टीका कमरुद्दिन राईले उम्मेदवारी दर्ता गराएका छन् । दुवै पार्टीले आफ्ना कार्यकर्तासहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।

उपमहानगरपालिकाको २३ वटै वडामा एमाले र काँग्रेसले वडाध्यक्ष र सदस्यको मनोनयन गर्ने कार्य जारी रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।

जिल्लाको कोहलपुर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसबाट पूर्णप्रसाद आचार्य र उपप्रमुखमा सङ्गीता अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । यसै गरी एमालेका तर्फबाट प्रमुख पदमा खीलप्रसाद भुसाल र उपप्रमुखमा अस्मिता थारुले मनोनयन दर्ता गराएका छन् ।

खजुरा गाउँपालिकामा अध्यक्ष पदका लागि एमालेको तर्फबाट सुमन मल्लले मनोनयन गराएका छन् । उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको एकल उम्मेदवारी दिने भनिए पनि अझै उम्मेदवारको टुङ्गो नलागेको बताइएको छ ।

अन्य केही स्थानीय तहमा माओवादीले गठबन्धनसहित उम्मेदवारी दिएका छन् । बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र चार गाउँपालिकासहित आठ स्थानीय तह रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस