काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिको प्रतिक्रिया दिँदै आफ्नो पार्टी फुटाएर कोही पनि अरूका सामु लम्पसार पर्न गठबन्धनमा सामेल नभएको बताएका छन् ।
रावलले सांसद पदबाट राजीनामा दिएपछि प्रचण्डले प्रतिगमनविरुद्धको पाँच दलीय गठबन्धनबाट रावललाई ‘ढलेको’ सार्वजनिक अभिव्यक्ति दिएपछि रावलले सामाजिक सञ्जालमार्फत प्रतिप्रश्न गर्दै एमाले फुट्नबाट जोगाउनका लागि आफूले त्याग गरेको बताए।
‘उनले सामाजिक सञ्जालमार्फत भनेका छन्,‘हामीले सांसद पद मात्र होइन, राजनीतिक भविष्यसमेत दाउमा राखेर प्रतिनिधि सभाको पुनः स्थापना र देउवाजीलाई प्रम बनाउन योगदान पुर्यायौँ, हाम्रो स्थितिमा हुनुभएको भए के प्रचण्ड जी हाम्रोजस्तै त्याग गर्न तयार हुनुहुन्थ्यो ?’
उनले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर आफू ‘नढलेको’ बताउँदै एमालेलाई ढाल्ने षड्यन्त्रका विरुद्ध उभिएको बताएका छन्, उनले भनेका छन्, ‘कोही पनि आफ्नो पार्टी फुटाएर अरू कसैका सामु लम्पसार पर्न गठबन्धनमा सामेल भएका होइनन्, ‘साझा स्वार्थ मिल्दासम्म सहयात्रा गर्ने कुरा मात्र हो।’
साउन ३ गते नेता रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने/नदिने विवादकै बीच प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका थिए । तर उनले उक्त राजीनामा साउन ८ गते फिर्ता लिइसकेका छन् ।
नेता रावल २०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित हुन् ।
प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएर म स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको हुँ, पुष्पकमल दाहाल'प्रचण्ड'जीले भन्नुभएझैं 'ढलेको' होइन।थप कुरा यस प्रकार छन्: pic.twitter.com/bh6zVzR0D9
— Bhim Rawal, PhD (@BhimRawal179) July 24, 2021