काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले राजनीतिक दलहरूले नयाँ सरकार गठन गरेर प्रधानमन्त्री केपी शर्मा ओली र महाभियोग लगाएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाइ गर्नुपर्ने बताएका छन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको अनुरोधमा भन्दै हिजो (बिहिबार) संविधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई प्रधानमन्त्री पदमा दाबी गर्नका लागि शुक्रबार साँझ ५ बजेसम्मको समय दिएपछि सांसद थापाको यस्तो प्रतिक्रिया आएको हो ।
बिहीबार साँझ नेता थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत उक्त विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् । राष्ट्रपति र प्रधानमन्त्रीले जानाजान पछिल्ला गतिविधि गरिरहेको र यसबाट प्रतिपक्षमा रहेका दलहरूले समयमै सुझबुझ पुर्याउनुपर्ने थापाको आग्रह छ ।
प्रधानमन्त्रीको सिफारिसमा भएको राष्ट्रपतिको आह्वानलाई विभिन्न राजनीतिक दल, संविधानविद् र कानुनविद्ले संविधान विपरीत कदम भन्दै विरोध गरेका छन् ।
विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो
नेतागण,के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो?जानेर गरेको हो।
गनगन गरेर नबसौं।सुझबुझ पुर्याउँ र
यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं,महाअभियोग लगाएर रापलाई बिदा गरौं।— Gagan Thapa (@thapagk) May 20, 2021