काठमाडौँ । कोरोना भाइरस संक्रमणको दर बढिरहेका बेला काठमाडौँ प्रवेशमा कडाई गरिएको छ । अब उपत्यका प्रवेश गर्ने व्यक्तिमा ज्वरो आएको पाइए पिसीआर रिपोर्ट देखाउनुपर्ने भएको छ ।
कोरोना संक्रमण भयावह हुने जोखिमलाई मध्यनजर गर्दै उपत्यका प्रवेश गर्ने व्यक्तिमा ज्वरो देखिए पिसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने प्रावधान राखिएको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार नाकामा ज्वरो नाप्ने कार्यलाई कडाइका साथ लागू गरिएको छ । ‘नाकामा रहेका हेल्थ डेस्कमा जनस्वास्थ्य कार्यालयबाट खटिएकाले ज्वरो नाप्छन्’, पराजुलीले भने, ‘ज्वरो वा अन्य लक्षण देखिए पिसीआर रिपोर्ट देखाउन अनिवार्य गरेका छौं ।’
महामारी फैलिन नदिन साबुन पानीले हात धुने, सामाजिक दूरीको पालना गर्ने जस्ता कुरामा चेतना बढाउने खालका गतिविधि पनि थालिएको पराजुलीले बताए ।