काठमाडौँ । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) कुमुद ढुंगेलको पक्षमा सर्वोच्च अदालतले आदेश दिएको छ ।
डिएसपी ढुंगेललाई धरौटी लिने उच्च अदालतको आदेश सर्वोच्चले बदर गर्दै ढुंगेलको पक्षमा आदेश जारी गरेको हो । शुक्रवार सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारी र प्रकाश ढुंगानाको संयुक्त इजलासले उनलाई साधारण तारेखमा छाड्ने काठमाडौँ जिल्ला अदालतको आदेश सदर गरेको हो ।
लुटपाटमा संलग्न गिरोह परिचालन गरेको अभियोगमा प्रहरी प्रतिवेदनका आधारमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरिएको थियो । ०७७ असार पहिलो साता जिल्ला अदालत काठमाडौँले डिएसपी ढुंगेललाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो ।
उक्त आदेश विरुद्ध सरकारी वकिल कार्यालय काठमाडौँले उच्च अदालत पाटनमा पुनरावेदनको निवेदन दिएको थियो । उच्च अदालतले ढुंगेलसँग १ लाख धरौटी माग्यो । सो आदेश विरुद्ध ढुंगेल सर्वोच्च गए । उच्च अदालतको आदेश बेरितको देखिएको भन्दै सर्वोच्चले जिल्ला अदालतको आदेश सदर गरेको छ ।
०७५ चैतमा रानीवारीस्थित लालेन्द्र शेरचनको घरमा भएको लुटपाटमा संलग्न लुटेरालाई ढुंगेलले परिचालन गरेको भन्दै महानगरीय अपराध महाशाखाले उनलाई समेत प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।