चितवन । चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरको रजिस्ट्रारमा प्रा.डा. शारदा थपलिया नियुक्त भएकी छन् ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले डा. थपलियालाई रजिष्टारमा नियुक्त गरेका हुन् । यसअघि थपलियाले निमित्त उपकुलपति र रजिष्टारको रूपमा काम गरिसकेकी छन् ।
गत माघ १२ देखि प्रा. डा. मनराज कालाक्षपतिको पदावधि सकिएपछि विश्वविद्यालयको रजिष्टार पद रिक्त रहेको थियो ।
यस्तै उक्त विश्वविद्यालयको सेवा आयोगको अध्यक्षमा प्राध्यापक डा.कल्याणी मिश्र त्रिपाठीलाई नियुक्त गरिएको छ । उनलाई सहकुलपति तथा शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठको सिफारिसमा कुलपति केपी शर्मा ओलीले अध्यक्षमा नियुक्त गरेका हुन् ।
गत साउनदेखि सेवा आयोगको अध्यक्ष पद रिक्त थियो । सेवा आयोग अध्यक्षसहित तीन सदस्यीय हुने व्यवस्था छ ।