१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेढो मैदानको बाङ्गो चक्रव्यूह

अ+ अ-

राजनीति नीतिमा सीमित हुँदासम्म मात्र नैतिकवान् हुन्छ । दु:ख र पीडाले ग्रस्त भएका बखत राजनीतिक दु:खीहरुबीच सम्झौता हुन्छन् । किन्तु राजनीति र युद्धमा गरिने प्रत्येक सम्झौताहरूमा कपट लुकेको हुन्छ ।

दुई नेकपालाई दु:ख थियो । नेकपालाई भन्दा नेकपा हाँक्ने चालकहरूलाई दुःख थियो । आपसमा नमिले तेस्रोले लैजाने सुनिश्चित । रातारात सन्धिमा हस्ताक्षर भयो । न कुनै छलफल, न बहस र न त कुनै मन्थन । नाम परिवर्तन हुँदैमा नियत परिवर्तन हुने कुरा भएन । त्यो सम्झौता तोड्न गरिएको थियो, तोडियो ।

राजनीति जब राजकाजमा रूपान्तरण हुन्छ , जब सम्झौता गर्ने एक पक्ष शक्तिमा र अर्को पक्ष पाखामा पछारिन्छ अनि सुरु हुन्छ दम्भ, अभिमान, दाउपेच र रोदन । यस अवस्थामा सम्झौता फगत एक सम्झौटोमा परिणत हुन्छ, एक दुरभिसन्धि । भनिन्छ, युद्धरत अवस्थामा गरिने सन्धि र सत्तामोहले गरिने सम्झौताभित्र झगडाको बीज अदृश्य रूपमा लुकेर बसेको हुन्छ । सन्धि सम्झौताबारे थाहा पाउने तेस्रो पक्ष अक्षर हेरेर धन्य हुन्छ । अक्षर लेख्ने पक्षले मात्र मसीमा मिसिएको कपटको बीज देखेको हुन्छ ।

भीमसेन थापाको पतनसँगै हिन्दुस्तान पसेका माथवरसिंह थापालाई राजा राजेन्द्र र रानी राज्यलक्ष्मीले प्रधानमन्त्री खान आ भनेर बोलाए । माथवरले लिखित प्रत्याभूति मागे । दश पानाको प्रतिज्ञापत्र पठाए राजाले । तेरो कहिल्यै हत्या हुने छैन भनी अभयको जन्तर प्रदान गरे । अनेक विरुदावलीले विभूषित गरे । नाङ्गो तरबार भिरेर दरबार जाने स्वीकृति प्राप्त भयो । `

तर तीनैजनाको मनमा आआफ्नो कपटी दाउ थियो । राजा चाहन्थे माथवरले यो झगडालु रानीलाई ठेगानमा राखोस्, रानी चाहन्थिन् शक्तिशाली माथवरले युवराज सुरेन्द्रलाई पाखा पारेर आफ्नो छोरो रणेन्द्रलाई राजा तुल्याओस्, माथवरको भित्री इरादा थियो थापा खलकलाई सिध्याउने आफ्नै साक्खै मावली पाण्डे खलकको सर्वनाश ।

धीर शमशेरका छोराहरू मिलेर काका श्री ३ महाराज रणोद्दीप सिंहलाई मारे । वीर शमशेर श्री ३ भए । काकालाई गोली हानेर ठहरै पार्ने वीरकै भाइ खड्ग शमशेर थिए I खड्गलाई आशा थियो अब नेपाल दरबारको अजेय हिरो हुन पाइन्छ । परन्तु वीर शमशेरले यसो विचार गरे, पैसा, शक्ति र सत्ताका लागि काका मार्नेले दाजुभाइलाई राख्ला ? खड्ग शमशेर निकालबास गरेर ठाडा धपाइए ।

‘ठाडा’ नेपाली राजकाजको एउटा बिम्ब हो । आफ्ना स्ववंशी बन्धुबान्धवलाई त राजकाज रुपी दम्भ र आशङ्काले ठाडा पुर्‍याउँछ भने वर्तमान बन्धुहरूको त गोरु बेचेको साइनो पनि छैन । आपसमा माया, दया र करुणा राखेर कठै भन्नुपर्ने कुनै प्रयोजन छैन र यो परिघटनामा आश्चर्य मान्नुपर्ने पनि केही छैन । प्रयत्न अनेकले गरे बाजी कसैले मार्‍यो । सक्नेले हान्यो, नसक्ने ठाडा पुग्यो । आधा घण्टा बिम्बात्मक ठाडाको चिसोमा थ्याच्च बसेर ‘हामी यहाँ छौँ’ भन्दै जनता पुकारे तापनि उहाँहरूका निवासमा न्यानो समृद्धि छ । नेपाली जनता त सदाकाल ठाडाको चिसोमा जीवन बिताउन अभिशप्त छन् । यो अभिशापका कारकतत्वहरु अरू कोही नभई पालैपालो उहाँहरू नै हो । तथापि विगतमा हिंसात्मक प्रतिरोधमा विश्वास गर्दै आएका नेता सडकमा सत्याग्रह गर्न जानुलाई सकारात्मक रूपमा लिनुपर्छ ।

यहाँ एउटा व्यक्तिलाई दोष दिनुको कुनै अर्थ छैन । उहाँहरूका शब्द फरक छन्, शैली फरक छ, शीलस्वभाव र लफ्फाजीमा भिन्नता छ तर प्रवृत्ति सदाकाल एउटै हो । अहिले पाँचजना लोकतान्त्रिक गणतन्त्रे पूर्व प्रधानमन्त्रीहरू सडकमा छन् । एकजना जब्बर र जोदाहा प्रधानमन्त्रीको हातमा राज्यलक्ष्मी छन् । उनको एक्लो भोगले अन्यलाई औडाहा भएको छ । विगतमा मिलीजुली सरकार बनाएर मिलीजुली शासन गर्ने बानी परेका महोदयहरूलाई एक दलको एक गुटीय वर्चस्वले सकस भएको छ । यहाँ मानिसहरू भन्छन्, सत्तारूढ दलका सरकार बाहिरका शीर्षस्थ नेताहरू भाग नपाएर सन्केका हुन् । प्रमुख प्रतिपक्षको नेताले त भाग माग्ने र ससानो बिलो फुत्काउने गरेको भनी आरोप लाग्ने गरेको देशमा सत्तारूढ दलकै नेताहरू भाग नपाएर दुःखी हुनु कुन ठूलो कुरा भयो ।

फेरि कुरा मिल्यो र आपसमा प्रेम जागेर हृदय द्रवीभूत भयो भने ठाडा हुत्तिएका खड्ग शमशेरको दिन आउन सक्छ । वीरको हृदयमा करुणा जाग्दा खड्ग पाल्पाको तैनातवाला बनेर शानले प्रादेशिक शासक हुने पाएका थिए । आधुनिक खड्गको मन पग्ल्यो, हेप्न छाडे र ‘प्रिय कमरेड’ सम्बोधन गर्दै सरसल्लाह गर्न राजी भए भने मात्र पनि उनीहरुबीच अर्को सन्धि हुनेछ । तर वर्तमान प्रधानमन्त्री त्यति सस्तैमा प्रिय कमरेड भन्न तयार हुनुहोला ?

असम्भवलाई सम्भव बनाउन र निन्दा एवं उपहासलाई स्तुतिगानमा रूपान्तर गर्न नेपाली राजनीति माहिर छ । अब कदाचित् प्रतिनिधि सभा बहाल भयो भने नाटकको रोचक अङ्क देख्न पाइने छ । पर्दाभित्र हुने खेलका भद्दा रूप पर्दाबाहिर झनै ठूला तमासा भएर प्रकट हुनेछन् । चुनाव हुने गरी राष्ट्रपतिको घोषणा सदर भयो भने नयाँ किसिमका गालीगलौज र छारो उडाउने शृङ्खला सुरु हुनेछ । कुन नेताले कोसँग जुगलबन्दी गर्ने हो अनुमान गर्न कठिन छ । टेढो मैदानका अनावृत खेलाडीहरूलाई आफैले निर्माण गरेको घातक चक्रव्यूह नै प्यारो छ । उनीहरूलाई कहिल्यै पश्चाताप हुने छैन । यो स्वनिर्मित व्यूहको शब्दकोशमा पश्चाताप र महसुस भन्ने शब्द नै राखिएको छैन ।

आवतजावत र आयाराम गयारामको जात्रा निर्वाचनको टिकट वितरणको समयमा सबै दलले खुला रूपमा देखाउने छन् । परन्तु घोषित मितिमा चुनाव हुन कठिन छ । लाग्दो जेठसम्म चुनाव हुन सकेन भने ठूलो संवैधानिक सङ्कट उत्पन्न हुने छ । कतिपय मानिसहरू यो निर्वाचनको घोषणा निर्वाचन नगर्ने अभिप्रायले गरिएको हो भनेर आशङ्का समेत गर्दैछन् I सम्मानित राष्ट्राध्यक्षबाट भएको घोषणाप्रति यति ठूलो सन्देह पैदा हुनु / हुने वातावरण सृजना हुनु दुर्भाग्यपूर्ण हो I

वर्तमान राजनीतिक मैदानका खेलाडीले स्वदेशी रेफ्रीलाई पत्याउँदैनन् भन्ने जगजाहेर छ । कुनै पराई देशको रेफ्री आएर घाँटी जोडाइदियो भने केही समयका लागि कुरो मिल्छ । पराईलाई बडो आनन्द दिने आज्ञाकारी नेता छन् नेपालमा ।

यहाँ चप्पले नेताहरू सुटेट बुटेड भएर महलमा बस्न थाले भन्ने चिन्ता र चासो व्यापक छ । सधैँभरि हात्तीछाप चप्पल पड्काउन कसले राजनीति गर्छ यहाँ ? चप्पल लगाएर टेम्पो चढ्ने नेता पनि छन्, इमान जमानको बिम्बको रूपमा परिचित । उनीहरूको गुणगान गर्ने ‘फ्यान’ पनि प्रशस्त छन् । तर उनीहरू यहीँ काठमाडौँबाट चुनाव लडे भने जमानत जफत हुन्छ ।

विगतमा भन्ने गरिन्थ्यो – यथा राजा तथा प्रजा । राजाका प्रजा हुने जमानामा जस्ता राजा त्यस्तै प्रजा भन्नु उचितै थियो । अहिले जनताले पठाएका नेता र तिनै नेताले छानेका चतुरेहरुको राइँदलो चल्ने हुँदा यथा जनता तथा नेताको जमाना हो । जनता जस्ता छन् नेता पनि त्यस्तै छन् यहाँ । यहाँ आफ्नो औकातले भ्याएसम्म सबैले रोज्ने भनेको कुबाटो नै हो । अहिले कुबाटो नै बाटोमा रूपान्तर भएको हुँदा ठूलो आशा गर्नै पर्दैन । कुनै पनि औकात नहुने त यी सारा गोरखधन्दाबाट टाढा अरण्यरोदन गरिरहेका छन् ।

औकातवालालाई थाहा छ बाकस थाप्दाका दिन ती अकिञ्चन, परित्यक्त र सीमान्तकृत नागरिक पनि लहरै लाइन लाग्न आउनेछन् र अहिले परिदृश्यमा रहेकै नेताका दललाई मतदान गर्नेछन् ।

जनता र देशको मुहार बदल्ने काम राजनीतिक नेताको हो । तर वर्तमान राजनीतिक दलमा कुण्डली जमाएर बसेका वृद्ध पितामहरूबाट कुनै आशा छैन । कब्जा जमाएर बसेका पितामहहरूमाथि हस्तक्षेप गरेर नेतृत्व ग्रहण गर्न सक्ने हैसियत राख्ने युवा नेता पनि टाढासम्म देख्न पाइएको छैन । भरोसा गरिएका युवा नेताहरू आफै पितामह हुने चरणमा प्रवेश गरिसके ।

सडक र सामाजिक सञ्जालमा देखा पर्ने युवकहरूमा पनि आफू नेता बन्नेभन्दा कसैलाई बोकी ल्याएर ताजपोसी गर्नेमा ध्यान छ ।

हामीहरू पुराण, रामायण, महाभारत र इतिहास आदि ग्रन्थमा राजाका प्रताप र प्रभावबारे पढेर दङ्ग पर्छौ । राजाको व्यक्तित्व, दानशीलता र करुणा देखेर हाम्रो हृदय द्रवित हुन्छ । राजाको प्राङ्गणमा चारण र मगन्तेहरूको भीड लागेको, राजाले सबका सबलाई गाई, वस्त्र र खानेकुरा दान गरेर तृप्त पारेको कथा पढेर यस्ता पो राजा भनेर प्रशंसा गर्ने समाजमा हुर्केका हामी । त्यस्ता प्रजाप्रेमी राजाको राज्यमा मागेर र चाकरी गरेर खान अभिशप्त मानिस किन थिए ? हामी त्यतातर्फ सोच्ने चेष्टा नै गर्दैनौ । जनक जस्तो ज्ञानी र नीतिवान् राजाले असङ्ख्य दासीहरू राजा दशरथलाई दाइजो दिएको कथाले तत्कालको शोषण, उत्पीडन र विभेदको परिचय दिन्छ ।

तथापि हामीले सानै उमेरदेखि सुन्दै आएका आदर्श यिनै हुन् । हामी कम्युनिस्ट त बन्दछौँ तर हामीले घृणा गर्ने गरेको कथित सामन्तको जीवनशैली हाम्रो अचेतनमा आदर्श भएर बस्छ । क्रान्ति र जनयुद्धको बेलामा हामी बडे बडे महल, मोटर र मलहरूलाई देखाएर अनुयायीलाई सम्बोधन गर्दै भाषण गर्‍यौँ, ऊ त्यो अब हाम्रो कब्जामा आउनेछ, हामी ऊ त्यो महलमा बस्न पाउने समय टाढा छैन । जब क्रान्ति सकियो, केहीका सपना मात्र साकार भए । जुलुसमा ताली पिट्नेहरू जिल्ल परे ।

राजतन्त्र त फालियो, तर राजा जस्तो हुन मन लाग्ने ग्रन्थी फालिएन । जनता आफूले चुनेको नेता आफू जस्तो देख्न चाहन्छन् । तर नेताको मनमा राजा बसेको छ, एक आलिशान जीवनशैली, राजसी शान ! जब अवसर मिल्छ, बचपनदेखि लुकेर बसेको वैभवको अमिट चाहनाले मूर्त रूप लिन्छ । किन्तु जनताले आफू जस्तै नेताको असीम प्रशंसा गरे पनि चुनावको बखत उसको चुनाव चिन्ह नै चिन्दैनन् ।

राजकीय शक्तिका प्रमुख पदहरूमा विराजमान व्यक्तिका यिनै ठस्सा, आडम्बर र अहङ्कार देखेर हो बरु राजा ठीक भन्ने आवाज सुन्न थालिएको । कसैलाई पनि आफूसमानको मानिस राजा जस्तो भएको देख्दा रिस उठ्नु स्वाभाविकै हो । राजा होस त नचिनेको रहस्यमय व्यक्ति होस् । आफूले मतदान गरेर मञ्चमा लगेर राखेको मनुष्य / मानुषीको राजसी रवाफ देख्दा झोँक चल्नु उचित हो । नत्र जनताको नासो वंशाणुगत राष्ट्राध्यक्षलाई सुम्पेर देशको राष्ट्राध्यक्ष हुने अवसरबाट आफ्नै सन्ततीलाई वञ्चित गर्न कोही किन तयार हुन्थ्यो ?

संयुक्त राज्य अमेरिकामा धनी र सेलिब्रिटी हुने रहर सबैले गर्दछन् । राजनीतिक दाउपेच पनि चल्छ । तर राजसी ठाँट, आडम्बर र खानदानी छटा देखाउने परम्परा छैन । अमेरिकामा बेलायती साम्राज्यको चङ्गुलबाट मुक्तिका लागि क्रान्ति भइरहेको समयमा बेलायती सम्राटको छत्रछायाँबिना अमेरिकाको कल्याण हुनै नसक्ने विचार राख्ने मानिस पनि थिए । क्रान्ति सफल भयो । संयुक्त राज्य अमेरिका गणतन्त्र घोषित भयो ।

तत्कालीन विचारक थोमस पेनले भनेका थिए, ‘राजाको साथमा सुरुमा तरबार हुन्छ । त्यही तरबार कालान्तरमा गएर दैवी शक्तिले युक्त राजदण्डमा परिणत हुन्छ । बालक होस्, शारीरिक या मानसिक रोगले कमजोर होस् या समाजविरोधी आचरणको होस्, अनिवार्य रूपमा राष्ट्राध्यक्ष हुन पाउने प्रणालीलाई अमेरिकाले स्वीकार गर्न सक्तैन ।’ यदि नवस्थापित गणतन्त्रका नेताहरूले सम्यक् रूपमा थिति कायम गर्न नसकेको भए बेलायत या हल्याण्डतिरबाट एउटा मानिस खोजेर ल्याई राजा थाप्ने अवस्था आउन सक्थ्यो ।

हाम्रो संविधान सभामा असङ्ख्य सदस्य थिए । विभिन्न बुँदामा जनमत सङ्कलन पनि गरियो । परन्तु सदनमा कुनै छलफल सम्म नगराई केही व्यक्तिहरूको कोठे निर्णयबाट संविधान जारी भयो । संविधान जारी गर्ने बखतमा त्यस समयका नेताहरूले एक अर्काको अनुहार हेरे । सबैलाई लाग्यो यदि यसले प्रधानमन्त्री पद पायो भने अकालमै प्रतिनिधि सभाको अवसान गराउने छ । अनि सबैको सहमतिमा बहुमत प्राप्त या बहुमत प्राप्त गर्न सक्ने सम्भावना भएको प्रधानमन्त्रीले कुनै हालतमा प्रतिनिधि सभा विघटनको सिफारिस गर्न नसक्ने व्यवस्था गरे । यो अचम्मको व्यवस्थालाई नेपाली संसदीय प्रणालीको अनुपम प्रावधानको रूपमा व्याख्या गरियो र अरू देशले यसको अनुसरण गर्ने आशा समेत गरियो । तर जब प्रतिनिधि सभा विघटनको सिफारिस भयो, राष्ट्रिय र अन्तर्राष्ट्रिय संसदीय परम्पराको दुहाई दिने काम भयो ।

हामी नेपाली जनतालाई सबैभन्दा मन पर्ने विषय परिहास हो । हामीले तीस वर्ष अघिदेखि राजनीतिक परिदृश्यमा रहेका नेताहरूबाट केही हुने वाला छैन भन्ने बुझिसकेका छौँ । तर विडम्बना ! अर्को उपाय पनि छैन । यस अवस्थामा नेपाली जनताले गम्भीर रूपमा भनिने कुरा समेत पत्याउन छाडेका छन् । जब गम्भीर तरिकाले भनिएका कुरा समेत पत्याउन लायक हुँदैनन् भने किन परिहासमय उपहास नगर्ने ? कमसेकम रमाइलो हुन्छ, ताली पड्काइन्छन् र सिट्ठी त बज्दछन् । यहाँ त यस्तो अवस्था आइसक्यो, यदि अर्धनग्न हुनु छ भने राजनीतिमा जाऊ, पूर्ण नग्न हुनु छ भने सरकारमा जाऊ, नारा लाउनु र पुत्ला पोल्नु छ भने कार्यकर्ता बन । लाग्दछ, रोजगारी दियो भने भीडमा जम्मा हुने युवाहरू काममा जान्छन् भन्ने राम्ररी बुझेका राजनीतिक नेताहरूमा रोजगारी सृजना नगर्नेमा सर्वसम्मत एकता छ ।

नेपालले एउटा प्रयोग गर्न बाँकी छ । यहाँ प्रत्यक्ष कार्यकारी राष्ट्रपति या प्रधानमन्त्री पदको व्यवस्था गर्नुपर्ने चर्चा भएको सुनिन्छ । सिद्धान्तत: यो राम्रो उपाय हो । तर हाम्रो बेहोरा हेर्दा यो प्रणाली झन् खतरनाक हुने लक्षण देखियो । स्वार्थपरायण प्रवृत्ति र दम्भ राख्ने प्रधानमन्त्री / राष्ट्रपति र यस्तै ईर्ष्या गर्ने दलीय मित्रहरू हुने हो भने महाभियोग लगाएर ठेगान लगाउने अवस्था आउने छ । संसदमा ह्विप नलाग्ने र संसद् विघटन नहुने त्यस्तो प्रणालीमा एकतर्फ कार्यकारीलाई टिक्न गाह्रो हुनेछ भने अर्कोतर्फ दुई अवधि पद धारण गरेको व्यक्तिले सरकारी र संवैधानिक संस्थामाथि कब्जा जमाएर आजीवन संवैधानिक तानाशाह हुने जोखिम बढ्नेछ I हामीलाई चाहिएको समृद्धि र स्थिरता हो I समृद्धिका लागि प्रणाली होइन प्रवृत्तिमा सुधार हुनु आवश्यक छ I

प्रतिक्रिया दिनुहोस