अछाम । अछाममा कोरोना महामारीका कारण रोकिएको छाउगोठ भत्काउने अभियान फेरि सुरु भएको छ । गत वर्ष पुसमा सुरु भएको अभियान चैतमा स्थगित भएको थियो । दोस्रो चरणको अभियानमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरू नै गाउँगाउँ पुग्न थालेका छन् ।
शनिबार प्रजिअको टोली जिल्लाको विकट मानिने चौरपाटी गाउँपालिका-२ को सोकट गाउँ मानेगड पुग्यो । छाउगोठहरू पुनर्निर्माण हुन थालेको सूचनाका आधारमा टोली सोकट पुगेको हो । अनुगमनका क्रममा टोलीले साँघुरो एक छाउगोठमा ४/५ जना महिला एकैसाथ बस्ने गरेको सूचना पायो । पुनर्निर्माण भएको गोठ प्रहरीले भत्काउन सुरु गर्दा महिलाले एकसाथ छाउगोठ नभत्काउन टोलीसँग अनुरोध गरेका थिए ।
गत वर्ष नै गृह मन्त्रालयको निर्देशनमा छाउगोठ भत्काउने, सचेतना फैलाउने र अटेर गरे कानुनी कारबाही गर्ने निर्देशन पाएको प्रहरीले अन्ततः उक्त गोठ भत्काइछाड्यो । ‘छाउगोठमा बस्नु हुँदैन भन्ने त थाहा थियो तर देउताकै कारणले बाहिर बस्न बाध्य छौँ। सासूससुराले पनि घरमा बस्न दिँदैनन्,’ स्थानीय तुली नेपालीले भनिन्, ‘घरमा नबसे प्रहरीले कारबाही गर्ने भएपछि अब बस्नैपर्यो । सीडीओ नै आएपछि घरमै बस्नुपर्छ भन्ने लागेको छ ।’
प्रजिअ गोकर्णप्रसाद उपाध्याय र प्रहरी प्रमुख डीएसपी योगेन्द्रसिंह थापालगायतको टोली सोकट पुगेपछि छाउगोठ भत्काउने अभियानमा स्थानीयले कतै अवरोध गरे, कतै साथ दिए । स्थानीयसँग टोलीले छाउपडीलाई घरमा राख्न आग्रह गरे । स्थानीयका समस्याबारे पनि जानकारी लिए ।
अछाममा छाउगोठ भत्काउने अभियानको दोस्रो चरण सुरु गरेको ७ दिनमा २ सय ४४ छाउगोठ भत्काइएका छन् । जिल्लाका तुर्माखाँद, ढकारी, बान्नीगढी जयगढ र मेल्लेख गाउँपालिका तथा पञ्चदेवल विनायक नगरपालिका, साँफेबगर नगरपालिकामा अभियान सुरु भएको हो । अन्य स्थानीय तहमा छिट्टै अभियान सुरु गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।