काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ५१० नमुना परीक्षण भएकोमा थप ६ सय १३ जनामा कोरोना पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५ सय ९२ पुगेको छ।
मन्त्रालयका अनुसार बिहीबार ७ सय ३९ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ४७ हजार ४ सय पुगेको छ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८०८ पुगेको छ।
हाल देशभर ७ हजार ३ सय ८४ जना सक्रिय संक्रमित रहेका छन् भने ४ सय जना क्वारेन्टिनमा छन्।