काठमाडौँ। प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्न उठाएका छन्। राष्ट्रपति पनि प्रधानमन्त्रीको अपराधको साक्षी मात्र नभएर साझेदार बनेको उनको आरोप छ ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने सिफारिस गरेकोमा राष्ट्रपतिले अनुमोदन गरिदिएकोमा उनले आपत्ति जनाएका हुन्।
प्रतिनिधिसभा भंग गरेको विरोधमा आइतबार साँझ नयाँ बानेश्वरमा आयोजित सभामा थापाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को झगडा र प्रधानमन्त्रीको अहंकारको शिकार संसद भएको बताए । उनले भने, ‘हाम्रो दुर्भाग्य, नेपालले एउटा अयोग्य र असक्षम व्यक्तिलाई प्रधानमन्त्री आयो, जसको अहंकारको शिकार संसद र संविधान बनेको छ ।’
संसदले प्रधानमन्त्री छान्न सकेन वा भएको प्रधानमन्त्रीले विश्वासको मत गुमाए मात्र संसद विघटनको अवस्था आउन सक्ने उनले बताए । यति स्पष्टसँग लेख्दालेख्दा प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको सिफारिस राष्ट्रपतिले सदर गरेको भन्दै उनले अघि भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि तपाई र मेरो राष्ट्रपति होइन, केपी शर्मा ओली ग्याङका एक सदस्य मात्र हुन् ।’