आज किन यो मन अविच्छिन्न उडिरहेछ,
त्यो आकाश चुम्नलाई
त्यो चन्द्र जित्नलाई
बेवकुफ यति पनि बुझ्दैन कि
चरी हो र उड्नलाई
बादल हो र डुल्नलाई,
म सम्झाउँछु यसलाई
धेरै चलायमान नबन प्रिय
लम्फू बनाउलान् तिमीलाई
झर्काउँछु यी बदलिरहेको सोचलाई,
समाजको कसीमा उत्रनु प्रिय
उडाउलान् तिम्रो भावनालाई ।
तर, म प्रश्न गर्छु-
के नयाँ सोचको हविगत यस्तै हो
ग्यालेलियोलाई पगलेट बताए सरी
संसार सबै कुरालाई टक्क रहेको हेर्न चाहन्छ
किन ?
फेरी उत्तर देऊ मलाई
के नवीन मान्यताको अस्तित्व यस्तै हो ?
देवकोटाको पागल कृती सरी
संसार किन बौद्धिकतालाई स्केलले मापन गर्न चाहन्छ।
पालिदेऊ त्यो आई. क्यू. को मिटर
च्यातिदेऊ त्यो घोकन्ते विद्या
अनवरत चिच्याइरहेछु म,
यो कस्तो प्रतियोगिता ?
मानव भित्रको मानवता सडाउने।
यो कस्तो होडबाजी ?
मनभित्रको ममता हराउने ।
हरे शिव ! स्थिति,
लुछा-चुँडी, तछाड-मछाड,
म र मेरो,
हरे राम ! परिस्थिति,
घुर्का-घुर्की, लडाई-झगडा
तै ठूलो कि मै ठूलो।।
मलाई त यो लाग्छ कि
सक्ने भए यिनले
स्वर्ग र नर्क जाने पनि
प्रतियोगिता रखाउँथे,
पाप र पुण्यको लेखाजोखामा पनि
कालो-बजारी र कार्टेलिङ गराउँथे
बैतर्नीको यात्रामा पनि
दल छुट्ट्याई सोर्स लगाउँथे।
मानव समाज यहाँ वास्तविक
सभ्य भएको कहाँ हो र ?
सभ्यता त आडम्बरी खोल मात्र हो,
इज्जत, प्रतिष्ठा मान-सम्मानका
नाममा कैयन मन कुँडिएका छन्,
जुँगाका लडाइँबिच
कयौँ देह कुचलिएका छन्,
पापको घडा भरिए भगवान् धर्ती टेक्छन् भन्थे
ती ईशलाई कहाँ भेटाऊ आज ?
मानव भित्र लुकेका
दानव चरित्रले आजित छ विश्व,
न यिनले बालखा भने
न त अबोध जनावर नै
हे ईश्वर! अवतार लिन आई
गर यो खेलाको सर्वनाश ।
हे ईश्वर ! अवतार लिन आई
गर यो खेलाको सर्वनाश ।