काठमाडौँ । सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौँ उपत्यकामा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले अरू जिल्लामा कोरोना सङ्क्रमण नियन्त्रण हुँदै गएको अवस्था रहे पनि काठमाडौँमा सङ्क्रमण रोकथाम उन्मुख नभएकोले उच्च जोखिमको अवस्थामा रहेको उल्लेख गरे ।
करिब ४० लाख जनसङ्ख्या भएको काठमाडौँमा सङ्क्रमण बढ्यो भने सङ्कटको अवस्था आउने भन्दै स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेका छन् । उनले दसैँ नजिकै आएकोले काठमाडौँबाट गाउँ जाँदा–आउँदा कोरोना संक्रमणपनि सँगै जाने भएकोले जहाँ बसेको छ त्यही दसैँ मनाउन आग्रह गरे ।
‘काठमाडौँ अझै उच्च जोखिममा छ । चाडपर्व आउँदै छ । हामी स्वस्थ रह्यौँ भने फेरि दसैँ मनाउन सक्छौँ । यति बेला सबैभन्दा उच्च जोखिममा ज्येष्ठ नागरिक रहेकोले दसैँ मनाउँदा ज्येष्ठ नागरिकलाई जोगाउनुपर्नेछ । काठमाडौँबाट गाउँ जाँदा आउँदा सङ्क्रमण पनि सँगै जाने गर्छ । स्वास्थ्य मन्त्रालयको रिर्पोट अनुसार ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक उच्च जोखिममा रहेकोले सचेत रहन आवश्यक छ’ उनले भने ।
मन्त्री ज्ञवालीले यो वर्षको दसैँमा आशीर्वाद बचाउनसमेत आग्रह गरे । आशीर्वाद दिने ज्येष्ठ नागरिक आफन्तबाट टाढैबाट आशीर्वाद लिन र अर्को दसैँमा आशीर्वाद लिनका लागि उनीहरूलाई सङ्क्रमणबाट जोगाउन आग्रह गरेका छन् ।