काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार अपरान्ह बसेको सचिवालय बैठकमा चिकित्सक प्रा. डा. गोविन्द केसीको २३ दिनदेखी जारी अनशनको विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा. डा. केसीको जीवन रक्षाका लागि सरकार गम्भीर रहेको र वार्ताका लागि प्रक्रिया शुरु भइसकेको जनाएका थिए ।
बैठकमा कोरोना महामारीको विषम स्थितिमा अनशन अन्त्य गराई वार्ताबाट समस्याको समाधान गर्न प्रा. डा. केसीलाई आग्रह गर्ने निष्कर्ष निकालिएको थियो ।
प्रा. डा. केसी गत २३ दिनदेखि अनशनमा रहेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीसहितको टोली आज अनशनस्थल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा पुगी प्रा. डा. केसीलाई भेटेको थियो ।
सरकारले प्रा. डा. केसीका अधिकांश माग पूरा भइसकेको जनाउँदै आएको छ । जवाफमा प्रा. डा. केसीले औपचारिक वार्ता टोली गठन हुनुपर्ने माग गरेका थिए ।