काठमाडौं । सीमा सम्बन्धी समितिले परराष्ट्रमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । भारतसँग वार्ता गर्नु अघि कालापानी, लिपुलेक र लिम्पियाधुराको सम्बन्धमा नेपालसँग भएका ऐतिहासिक दस्तावेज र प्रमाणहरु संकलन गर्ने र त्यसलाई लिपिवद्ध गर्ने उदेश्यले सरकारले गठन गरेको कार्यदलले परराष्ट्रमन्त्रीलाई प्रतिवेदन बुझाएको हो ।
स्रोतका अनुसार आइताबार बेलुका समितिले प्रतिवेदन बुझाएको हो । प्रधानमन्त्री केपी ओलीलाई प्रतिवेदन बुझाउने भनिएको थियो । तर परराष्ट्रमन्त्रीलाई बुझाइएको छ । उक्त भूभाग नेपालको नै हो भन्ने यथेष्ट प्रमाणहरु भए पनि त्यसलाई एकीकृत गरी वार्तामा बस्दा भारतलाई कन्भिन्स गर्ने ढंगले प्रस्तुत हुनका लागि उक्त कार्यदललाई प्रतिवेदन तयार पार्न भनिएको थियो ।
सरकारले जेठ २२ गते नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा विभिन्न क्षेत्रका विज्ञहरु र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरु संलग्न कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले प्रमाण संकलनका क्रममा ऐतिहासिक दस्तावेजको अध्ययन गर्नुका साथै विभिन्न क्षेत्रका विज्ञहरुसँग परामर्शसमेत गरेको थियो ।