डडेल्धुरा । बैतडीमा मृत भेटिएका पुरुषमा कोरोना पुष्टि भएको छ। जिल्लाको पुर्चौडी नगरपालिका–३ का अन्दाजी ३० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो।
भारतको बैङ्लोरबाट फर्किएका उनी शनिवार पुर्चौँडी नगरपालिका–१ को लामाधारमा मृत भेटिएका थिए। डडेल्धुरा अस्पतालको प्रयोगशालामा कोरोना परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए।
मृतकको शव व्यवस्थापन गर्न नेपाली सेनाको टोली घटनास्थल गइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए। उनले जिल्ला सदरमुकामबाट घटनास्थल पुग्न ८/१० घण्टा लाग्ने भएकोले शव सुरक्षाकर्मीको निगरानीमा राखिएको बताए।
योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या १७ पुगेको छ।