काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट बालबालिकाको कानमा लगाएका सुनका मुन्द्रा लुटपाट गर्ने एक महिला पक्राउ परेकी छन् ।
म्याग्दी घर भएकी काठमाडौँको बालाजुमा डेरा गरी बस्ने ३२ वर्षीया महिला सङ्गीता क्षेत्रीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी महानिरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।
सङ्गीताले बालबालिकाहरूलाई चकलेट र आइसक्रिम दिई आमाको साथी हुँ भनी ललाई फकाई, प्रलोभनमा पारी, डर त्रास देखाई कानको मुन्द्रा लुटपाट गर्ने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
हालसम्म उनले उपत्यकाका २२ स्थानबाट बालबालिकाका कानमा लगाएका सुनका मुन्द्रा लुटेको प्रहरीले जनाएको छ ।
उनको साथबाट प्रहरीले एक नोकिया मोबाइल र ६ सय ८० रुपैयाँ पनि बरामद गरेको छ । महिलाले हालसम्म मनमैजु, कपन, कपुरधारा, गल्कोपाखा , स्युचाटार, कोटेश्वर, गोठाटार, काठमाडौँ– ६ पानी ट्याङ्की, माहांकाल ओरालो, आरुबारी बौद्ध, शिवचोक, नारायणटार, कपन मिलन चोकबाट बालबालिकाका कानका मुन्द्रा लुटेको प्रहरीले जानकारी दिएको छ ।
यस्तै लुटिएका सुनका मुन्द्रा खरिद गर्ने अभियुक्त पनि पक्राउ परेका छन् । काभ्रेको रोसी १२ घर भई हाल ललितपुरको सौगलमा डेरा गरी बस्ने ३० वर्षीय मुरली विकलाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई आफ्नै सुन पसलबाट मङ्गलवार बेलुकी पक्राउ गरिएको हो । उनले ललितपुरको कनिवहलमा दर्ता नगरेको सुन पसल सञ्चालन गर्दै आएको खुलेको छ ।
विकले आफ्नै सुन चाँदी पसल मार्फत लुटिएका र बिना बिलका सुनहरू सस्तोमा खरिद गर्ने र स्वरूप परिवर्तन गरी बिक्री गर्ने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
विकको साथबाट ६२ लालको चुँडिएको सुनको सिक्री एक थान, गालेको सुन ६१ लाल, ३० हजार पाँच सय नगद रुपैयाँ, एक थान ओप्पोको मोबाइल र एकथान सिम बरामद गरिएको प्रवक्ता राठौरले जानकारी दिए ।