काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बैठक कक्षबाट बाहिरिएको छन् ।
उनी स्थायी कमिटी सदस्यहरुसँगको सहमतिमा नै बैठकबाट बाहिरिएका हुन् । स्रोतकाअनुसार प्रधानमन्त्रीले बैठकमा आफ्ना कुरा राखेर हिँडेका हुन् ।
अहिले अध्यक्ष प्रचण्डले बैठकको अध्यक्ष गरिरहेका छन् । बुधबार भएको सहमतिअनुसार नै अध्यक्ष प्रचण्डले बैठकको अध्यक्षता गरिरहेका हुन् ।
बुधबार दुई जना अध्यक्षबीच ओलीले सरकार सञ्चालन गर्ने र पार्टीको काममा हस्तक्षेप नगर्ने सहमति भएको थियो । त्यस्तै अध्यक्ष प्रचण्डले पार्टी सञ्चालन गर्ने सहमति भएको थियो ।
असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक यसअघि पटक पटक स्थगित हुँदै आएको थियो। महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलको प्रतिवेदनलाई आधार बनाएर ओली-दाहालले तयार पारेको सहमतिको प्रस्तावमा बैठक केन्द्रित भइरहेको छ।
अध्यक्षद्वयले तयार पारेको साझा प्रस्ताव स्थायी कमिटी सदस्यहरुलाई पहिले नै बाँडिसकिएको छ। त्यही प्रस्ताव अध्ययन गरी सबै स्थायी कमिटी सदस्यले आफ्नो सुझाव लिखित रुपमा अध्यक्षद्वयलाई हिजै बुझाइसकेका छन्।