विराटनगर । प्रदेश नं १ सरकारलाई स्वीस सरकारले रु ९० लाख बराबरको अत्याधुनिक दुई थान आरडिटी पिसिआर मेसिन हस्तान्तरण गरेको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई स्वीस सरकारको कार्यक्रम विशेषज्ञ अमन जोन्छेले उक्त मेसिन हस्तान्तरण गरे । उक्त मेसिनले प्रतिघण्टा ९६ जनाको कोभिड–१९ नमूना परीक्षणको क्षमता छ ।
मुख्यमन्त्री राईले प्रदेश सरकारले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारमा विगतदेखि गरेको कार्यको चर्चा गर्दै जनस्तरमा सङ्क्रमण रोक्न थप कार्य गर्ने बताए । उनले प्राप्त दुई मेसिन तत्काल मेची अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा जडान गरी परीक्षणको दायरा बढाउने जानकारी दिए ।
मुख्यमन्त्री राईले प्रदेशलाई छिट्टै ग्रिन जोनमा लैजाने प्रतिबद्धता व्यक्त गर्दै सङ्घीय सरकारले लकडाउन अन्त्य गरे पनि अझै पनि सावधानी अपनाउन सबैसँग आग्रह गरे । प्रदेश सरकार जनताको स्वास्थ्य र सुरक्षाप्रति सचेत रहेको चर्चा गर्दै समुदायमा सङ्क्रमण फैलन नदिन सरकार गम्भीर रहेको बताए ।
उनले स्वीस सरकारले प्रदेशको विकासका लागि सिँचाइ, कृषिका लागि विगतमा रु एक अर्ब सहयोग गरेको स्मरण गर्दै स्वास्थ्यप्रति चिन्तित हुँदै उपलब्ध सहयोगका लागि स्वीस सरकारलाई धन्यवाद दिए । स्वीस सरकारका कार्यक्रम विशेषज्ञ जोन्छेले प्रदेश सरकारले कोभिड–१९ नियन्त्रण, रोकथाम कार्यको प्रशंसा गर्दै आगामी दिनमा थप सहयोग उपलब्ध हुने विश्वास जनाए ।