काठमाडौँ । कोभिड १९ को अध्ययन तथा अनुसन्धानका लागि दक्षिण कोरियाका ४ हजार जनाले प्लाज्मा दिने भएका छन् ।
दक्षिण कोरियास्थित शिञ्जोची चर्चका पूर्व कोभिड १९ सङ्क्रमित ४ हजार जनाले रगतको प्लाज्मा दिने इच्छा व्यक्त गरेका हुन् ।
प्रति व्यक्ति ५०० मिलिलिटर प्लाज्मा दान गर्न लागिएको र उक्त प्लाज्मा झण्डै ८३ अर्व डलर बराबर मूल्यको रहेको चर्चका संस्थापक मान ही लीले बताएका छन् ।
प्लाज्माको अभावमा कोभिड-१९ को खोपको अनुसन्धान र अध्ययन गर्न मुस्किल परिरहेको अमेरिकी अनुसन्धानकर्ताहरुले बताएका छन् । तर अहिलेसम्म २ सय जना अमेरिकीले मात्र प्लाज्मा दिने इच्छा व्यक्त गरेका छन् ।
दक्षिण कोरियामा अहिलेसम्म १२ हजार ५ सय ३५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । जसमध्ये २८१ जनाले ज्यान गुमाएका छन् ।
दक्षिण कोरियामा कोरोना भाइरस फैलिनुमा शिञ्जोची चर्चको भूमिका रहेको भन्दै आलोचना भएको थियो । तर चर्चले भने उक्त आरोपको खण्डन गर्दै आएको छ ।