डोटी । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको संयोजकत्वमा शुक्रवार बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले जिल्ला भित्र विकास निमार्ण आयोजना र उद्योगहरू सञ्चालन गर्न अनुमति दिने भएको छ ।
नोवल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको १६ औ बैठक बाट पारित गरेका प्रावधानहरूलाई पूर्ण पालना गर्ने लिखित प्रतिबद्धता जनाएमा विकास निमार्णका कार्य सञ्चालन गर्न अनुमति दिने प्रजिअ पौडेलले बताए । उनले भने ‘उच्च स्तरीय समन्वय समितिले बनाएको मापदण्डलाई पुरा गरेर आएमा अनुमति दिन्छौ र नियमित अनुगमन पनि हुन्छ ।’
योजना निर्माणका लागि भौतिक दुरी कायम गर्नुपर्ने, निर्माणमा खटिएका मजदुरको दैनिक-बिहान,बेलुका) ज्वरो मापन गर्नुपर्ने, मास्क प्रयोग गर्नुपर्ने, निर्माण व्यवसायीले हरेक साइटमा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने, मजदुरलाई साबुन र स्यानिटाइज र अनिवार्य दिनुपर्ने भन्दै ‘गाइड लाइन’ रहेको उत्त कुरा पुरा गर्नुपर्ने समेत प्रजिअ पौडेलले बताए ।
बैठकले आयोजना तथा उद्योगबाट उल्लेखित प्रावधानको पालना भए नभएको विषयमा स्थानीय प्रशासन र स्थानीय तहले अनुगमन गर्ने, आयोजना सञ्चालन गर्न जिल्ला बाहिरबाट कामदार ल्याउनु परेमा स्वास्थ्य परीक्षण गरी ल्याउने र स्वास्थ्य परीक्षणको विवरण समिति समक्ष पेस गर्नु निर्णय भएको समेत प्रजिअ पौडेलले बताए ।