१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तित्रे हल्दार

अ+ अ-

चारु तीर्थनाथको छेउमै आएर बसी I उसले हजुरबुवालाई यसो नियालेर हेरी I सेतै फुलेको कताकति बाँकी रहेको कपाल बढेर लामो लामो भएको छ, आँखीभुइँका रौँहरु छरपस्ट छन्, दारी नकाटेको पनि धेरै दिन भएछ I ढाकाटोपी पुरानो भएर खुइलिएको, घाँटीको छाला झोलिएर लत्रेको, ठाउँठाउँमा देखिने सेता टाटाले ज्याकेटको कालो रंगलाई विस्थापित गरिसके I दुबै गोड़ाका बूढऔंलाहरुले मोजाभित्रको सीमा उल्लङ्घन गरेछन् I बूढाले मुसुक्क हाँस्दै भनेका थिए ‘के हेरेकी छोरी ? म तेरै हजुरबा तीर्थनाथ ! चिनिनस् ? म पनि कुनै जमानामा तेरो दाइ चिन्तनभन्दा कम राम्रो थिइन बुझिस् ? अहिले पो बूढो भएँ I’

आज धेरै दिनपछि घाम लाग्यो I तीर्थनाथ माघ महिनाको चीसो शनिबारको घाममा बसेर ज्यान तताउने असफल प्रयत्न गर्दैछन् I आज घरमा तीर्थनाथ र नातिनी चारु मात्र छन् I नाति चिन्तन र अर्की नातिनी चन्द्रिका होस्टेलमा बसेर पढ्छन् I छोरा दिलनाथ र बुहारी सारिका सारिकाकी फुपुको छोराको विवाहमा गएका छन् I चारु तीनजना भाइबहिनीमा सबैभन्दा प्रतिभाशाली छ I ऊ एसएलसी र आइएस्सी दुवै परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण भएकी थिई I उसलाई मेडिकलमा भर्ना गर्ने कुरा थियो, तर चारुले मानिन I आर्ट्स पढ्न थाली I ‘आर्ट्स पढ्नेलाई को होस्टेलमा राखेर पढाउँछ ?’ बाबु दिलनाथले भनेका थिए I चारुले भनेकी थिई ‘हुन्छ बाबा म होस्टेल जान्न I’

चारू सानैदेखि शान्त स्वभावकी थिई I ऊ वृद्ध तीर्थनाथकी सखा हो I तीर्थनाथले चारु बाहेक अरु कसैसंग दोहोरो कुराकानी नगरेको दश बाह्र वर्ष भयो I नाति चिन्तन र ठूली नातिनी चन्द्रिका यदाकदा घरमा आउँछन् I उनीहरु बोल्ने भनेको ‘दर्शन है हजुरबाबा’ भन्दै हातमा ढोग्दा मात्र हो I ‘दर्शन’ को कर्तव्य पूरा गरेपछि उनीहरु मोबाइल खेलाउन थाल्छन् I तीर्थनाथ पनि उनीहरुलाई ‘डिस्टर्ब’ गर्दैनन् I छोरा दिलनाथ तीर्थनाथलाई बडो मायाले भन्छन् ‘आफ्नो स्वास्थ्यको ख्याल गर्नुस है बा, जे पायो त्यही खानुहोला नि फेरि’ I बुहारी सारिका बूढालाई बैठक कोठामा बसेको देखिन् भने मधुर वाणीमा सासम्मान भन्ने गर्दछिन्, ‘बुवा त आरामसंग आफ्नै कोठामा बसेको भए हुने नि’ I

चारु बेलाबेलामा हजुरबाको कोठामा बसेर केहीबेर गफ गर्छे I सानैदेखि ‘गाउँको कथा सुनाउनुहोस् न हजुरबाबा, एनिमलको कथा सुनाउनुहोस् न’ भनेर हैरान पार्थी I अहिले पनि चारुको त्यो बानी गएको छैन I उसले तीर्थनाथले भनेका धेरै कथाहरुलाई आफ्नै भाषामा लेखेर साहित्यिक पत्रिकामा प्रकाशित गराइसकेकी छ I तिनै कथाको माध्यमबाट ऊ नेपाली साहित्यको उदीयमान प्रतिभाको रुपमा स्थापित भइसकी I आज उसले भनेकी थिई ‘हजुरबाबा आज घरमा कोही छैन I आज दिनभरिको लागि हजुर यो घरको राजा, म राजपुत्री ! आज यहाँ हाम्रो राज्य चल्छ, हाम्रै हुकुम I आज हजुरले अलि लामो कथा सुनाउनु पर्छ I मलाई जीवनको कथा सुनाउनुहोस्, जीवनको नग्नता र विवशता सुनाउनुहोस्, जीवनको संघर्ष , दु:ख र दर्दको कथा सुनाउनुहोस्, एउटा अविरल जीवनयात्राको सत्य कथा सुनाउनुहोस् I’

तीर्थनाथले आकाशतिर हेरे, बादलहरु दौडिरहेका थिए I उनले चारुलाई आकाशतिर देखाउँदै भनेका थिए ‘’ऊ त्यो बादललाई हेर त, बादल घामलाई छेक्ने प्रयत्न गर्दैछ, किन्तु हावाले उसलाई तितरबितर पारिरहेछ I मानिसको जिन्दगानी पनि त्यही बादल र हावा जस्तै हो I ऊ त्यो रुखमा बसेको कागलाई हेर, उसले आफ्ना सन्तती हुर्काउनका लागि बडो परिश्रमले गुंड बनाएको थियो, त्यही गुंडमा उसले आफ्ना बचेरा हुर्कायो I तर त्यो अहिले छैन, भत्किसक्यो I अब बचेराहरु वयस्क भइसके, उनीहरु अर्को गुंड बनाउने धुनमा छन I उनीहरु पनि गुंड बनाउने छन्, बचेरा हुर्काउने छन् I फेरी त्यो गुंड पनि भत्किने छ, फेरी नयाँ बन्नेछ I ऊ त्यो घरको छतमा एक्लै बसेर खोकिरहेकी बूढी आमैलाई हेर , अनि तल फूलबारीमा खेलिरहेकी बालिकालाई हेर I एकदिन ती बूढीआमै पनि त्यसैगरी फूलबारीमा खेल्थिन्, मनमनै जीवनका सपनाको सुन्दर रुमाल बुन्थिन् I एकदिन यस्तो आउनेछ, अहिले फूलबारीमा आनन्दले खेल्ने बालिका पनि एक्लै छतमा बसेर खोकिरहेकी हुनेछिन् I

आज म तिमीलाई गाउँ र शहरको कथा सुनाउँछु I आज म तिमीलाई तित्रे हल्दारको जीवनी सुनाउछु ,ध्यान दिएर सुन I

गंगाधरको छोरो लीलानाथ भर्खरै सोह्र वर्ष पूरा गरेर सत्रमा टेकेको थियो I गाउँमा अचानक ठूलो हल्ला चल्यो I गाइनेहरुले युद्धका गीत गाउन थाले I दिदीबहिनीहरुले लडाईका गाथा गाउने थाले I भरखरै विवाह गरेर हिन्दुस्ठानको रणमा परेर मरेका युवकहरुका विधवाहरुको करुण चीत्कार र चिच्याहटका गीत गाइन थाले I कुरा केवल दु:खका मात्र थिएनन् , बाँचेर आउनेका शान र युद्धका गफहरु सुन्नेका लागि अलौकिक, रहश्यमय र जोसलाग्दा थिए I लाहुरेले ल्याउने सेतासेता चुरोटहरु, छेस्को कोर्दा झर्र आगो पार्ने सलाईहरु, गुलिया चकलेटहरु, मखमली कपडाहरु र मगमग बास्ना आउने अत्तरहरुको वर्णन शोकका चीत्कारभन्दा आकर्षक थिए I

गंगाधर बाहुन थियो I बाहुनले हलो जोते जात जान्थ्यो I किन्तु हलीलाई ज्याला दिने नगद ऊसंग थिएन I रत्ने घर्तीले एकदिन हलो जोतिदिए बापत गंगाधरले दुईदिन मुढा चिरेर पर्म तिर्नु पर्थ्यो I रत्नेले सिधै भन्थ्यो ‘’ल गंगे बाजे ! म हलो सलो बोक्न सक्दिन, हलो बोकेर आफै खेतमा ल्याउनुस्, सांझ आफै बोकेर फर्कनुस् I’ आफ्नो जात जोगाउन रत्नेका सबै शर्त मान्ने बाहेक गंगाधरसंग अर्को उपाय थिएन I

एकदिनको कुरा हो, ऊ हलो बोकेर गोरु खेत्दै खेतमा पुग्यो, पर्खिरह्यो तर रत्नेले धोका दियो I गंगाधर गोरु खेत्दै हलो बोकेर घर फर्क्यो I छिमेकीको खेत जोतिरहेको सुबाने घर्तीले उसलाई भनेको थियो, ‘रत्नको छोरो हराएको चार वर्ष भयो, मरेको खबर पो आयो कि बा शोक परेर नआको हो कि I’

सांझ झमक्क भएपछि गंगाधर रत्नेको घरमा पुग्यो I उसले रत्नेको सानो झुपडीको पिढीमा चारजना मानिस मस्त सुतेको देख्यो I ऊ अलमलमा पर्यो, कतै अर्कैको घरमा त आइएन ? ठम्याएर हेर्यो, घर त रत्नेकै हो I पिढीमा दुईओटा ठूलाठूला काला बाकस ठड्याएर राखिएको छ, आधा मात्र तानेर फालिएका चुरोटका ठुटाहरू यत्रतत्र छन् I गंगाले एउटा चुरोटको ठुटो उठाएर हेर्यो I उसले चुरोटबारे सुनेको मात्र थियो, देखेको थिएन I यसो कोट्याएर हेर्दा उसले थाहा पायो, चुरोट भनेको यही हो I गंगाले विस्तारै रत्नेदाइ रत्नेदाइ भनेर बोलायो I रत्ने उठ्यो I उसले आँखा मिच्दै भनेको थियो ‘ल्या गंगे बाजे पो ? आज मेरो छोरो मित्रे आयो नि गंगे बाजे ! लाहुरे भएको रहेछ केटो त ! ई हेर्नुस दुईजना भरियालाई बाकस बोकाएर आएको छ I’

मित्रे जुरुक्क उठ्यो I रक्सीले राताराता भएका मस्त आँखाले हेर्दै उसले भनेको थियो ‘ओहो गंगे बाजे अच्छा लेकिन सन्चै हुनुहुन्छ ?’ उसले एउटा चुरोट गंगालाई दिंदै झ्वार्र सलाई बाल्यो, गङ्गा तर्सेर पर पुग्यो I मित्रेले भनेको थियो ‘नडाराउनुस् बाजे यो माचिस हो माचिस ! यसले सिख्रेट पनि सुल्गाता है और घर भी जलाता है I’ गंगाले चुरोटको सर्को तान्यो, आहा ! कहाँ लोकल भूसा भरेको चिलिमको धुवाँ, कहाँ यो अंग्रेजी सिख्रेट ! भरियाहरु उठे, ज्याला लिएर ‘अच्छा साहेब हाम ऐले जाता है’ भन्दै बिदा भए I मित्रेले गंगातिर हेर्दै भन्यो ‘हेर्नुस बाजे अब मेरो बा बाहुनको हलो जोत्ने हली होइनन, लेकिन लाहुरेका बाउ हुन् I अब मेरो बा बाहुनको हलो जोत्न पनि जान्नन् , एकमाना आटो माग्न पनि नहीं जायगा I’ त्यसै दिनदेखि रत्नेले बाहुनको हलो जोत्न छाड्यो I

एकदिन गंगाले मित्रेलाई सोधेको थियो, ’हाम्रो लीलेलाई पनि लाहुरे बनाउनु परो I’ मित्रेले भनेको थियो ‘अच्छा बात है, म एक काम गर्न सक्छु I’ मित्रेले लिलालाई कुँडाघाट पुर्याएर ‘ल लिले बाजे भर्ति हुने ठाम यही है, अगर भर्ती हो सका तो लाहुरे होगा लेकिन भर्ति हुन नहीं सकेगा तो बनियाका वर्तन साफ करेगा I’ लिलानाथ भर्ति हुन सकेन I गोरा साहेवले छातीको नापो लिएर भनेको थियो ‘अनलकी गोर्खा ! टु फेल हो गया,’ घर फर्कने बाटोखर्च थिएन, लीला एउटा बनियाको मिठाइ पसलमा भाँडा माझ्ने काममा भर्ति भयो I यता घरमा गंगाधरले सोच्यो, सायद लिला फौजमा भर्ना भयो I द्वितीय विश्वयुद्धको समय थियो, प्रायः सबै ‘गोर्खा’ युवकहरु फौजमा भर्ना हुन्थे I साह्रै दुब्लो र लुरे भएको हुँदा लिला भर्ना हुन सकेन I गंगाले छिमेकीहरुलाई भनेको थियो, ‘लिले भर्ति नभएको भए अहिलेसम्म फर्किसक्थ्यो, अब हल्दार भएर फर्कन्छ I’

आज के भयो भयो तित्रे हल्दारलाई निद्रा लागेन I काठमाडौँ आएको धेरै वर्ष भयो I गाउँमा को मरे को जीवित छन्, उसलाई केही थाहा छैन I गाउँका मानिस काठमाडौँ आउंदैनन्, ऊ गाउँ जान्न I तित्रे हल्दारलाई गाउँ जानुको केही प्रयोजन छैन I उसको बाबु लिखे हल्दार ऊ सात वर्षको हुँदा मर्यो I आमालाई पुरानो हली रत्ने घर्तीले स्याहार्यो I आमा घर्तीसँग पोइल गएपछि तित्रेको दशा लाग्यो I आमासँग जाओस् , घर्तीसँग सुतेर जात फालेकी आमासँग बस्न जाँदा उसको पनि जात जान्थ्यो I उसलाई काकाले आमासँग जान दिएन I समाजको नजरमा काकाले उसको जात जोगायो, तर उसको मनसाय भतिजोको जात जोगाउनेभन्दा गाई बाख्रा हेर्ने गोठालो बनाउने थियो I

तित्रेलाई बाबुको सम्झना आयो I तित्रेको बाबु लिलानाथले खैरेले ‘अनलकी गुर्खा टु फेल हो गया‘ भनेको बुझेन I नजिकै लाठी लिएर बसेको लामा-लामा जुँगा पालेको हिन्दुस्ठानी सिपाहीले ‘अबे बहादुरके बच्चे ! तेरे इस जानको तो जापानी सिपाही कच्चा चबा जायगा I’ भन्दै तानेर बाहिर धकेलिदिएपछि मात्र उसले बुझ्यो, उसलाई भर्ना गरेन I बनियाको मिठाइ पसलको कडा ‘ड्युटी’ मा न त उसले नुहाउन पायो, न लुगा फेर्न I बल्लतल्ल बाटोखर्च जम्मा गरेर ऊ एक वर्षपछि घर फर्क्यो I शरीरभरि जुम्रा र लिखा पालेर मरन्च्यासे ज्यान लिएर फर्केको हुँदा उसलाई गाउँलेहरु लिखे हल्दार भनेर बोलाउन थाले I अब लीलाको नाम लीला रहेन, उसको पहिचान नै लिखे हल्दारको रुपमा कायम भयो I उसको वास्तविक नाम धेरैलाई थाहा नै भएन, जसले जान्दथे तिनले पनि उसलाई लिखे हल्दार भनेरै बोलाउन थाले I कमजोर र भाग्यले ठगेकाहरुलाई समाजले कस्तो व्यवहार गर्छ, कस्ता-कस्ता अपमान र प्रताडना सहनु पर्दछ तित्रेलाई राम्ररी थाहा छ I

दोस्रो महायुद्ध सकिनुअघि नै तित्रेको जन्म भयो I ऊ चार वर्षको हुँदा गाउँमा हल्ला चल्यो I अब देशमा कांग्रेस लाग्यो, नया जमाना आयो, स्कूल खुल्ने रे ! छोराछोरी स्कूल पठाउनु पर्ने रे ! बूढाहरुले भन्ने गरेको सुनिन्थ्यो, अब घोर कलियुग सुरु भयो, गुहु र गोबर बराबर हुने जमाना आयो I लिले सानैदेखि रोगी र पिलन्धरे भएको हुँदा बाबुले एकदिन भनेका थिए, ‘जति खान दिए पनि सधै तित्रोजस्तो I’ छिमेकीहरुलाई के चाहियो, उसलाई साराले ‘तित्रे हल्दार’ भनेर बोलाउन थाले I छिमेकीहरुले यो नाम मायाले होइन, हेपेर राखेका हुन् भन्ने थाहा पाउन उसलाई बीस वर्ष लाग्यो I

तित्रेले पाँच वर्षसम्म काकाको गाईबाख्रा चराएर बितायो I उसको खेतबारीको अन्न काकाले नै स्याहारे, तर उसले एकछाक पनि प्रेमले खान पाएन I साउने संक्रान्ती, तीज, सोह्रश्राद्ध, दशैं, तिहार र माघे संक्रान्तीमा बाहेक उसले मीठो मसिनो खान पाएन I ऊ कहिलेकाहीं आमालाई देख्थ्यो, आमा उसलाई हेर्दै मुसुक्क हास्थिन्, तर ऊ बेपत्ता भाग्थ्यो I भित्र कतै अचेतनमा आमाको माया लाग्थ्यो, बोलुं बोलुं लाग्थ्यो, तर उसलाई झल्याँस्स जात जाने कुरा याद आउंथ्यो I उसलाई यत्ति थाहा थियो, आमाले जात फालिन्, किन्तु जात जाने भनेको के हो भन्ने थाहा पाउन उसले थप पच्चीस वर्ष बाँच्नु पर्यो I जात के हो ? कसले किन बनायो ? र यस्तो निष्ठुर र हरिप परम्पराले मानव जातिलाई के फाइदा भयो ? उसले अझै पनि बुझ्न सकेको छैन I

चारुले हजुरबाले भनेका सबै कुराको टिपोट गर्दै छ I बूढाले भने ‘छोरी मलाई पिसाब लाग्यो मुख पनि सुक्यो, अब एकछिन हापछुट्टी गरम है !’ चारु चिया लिएर आई I तीर्थनाथले चारुलाई हेरिरहे I अठार वर्ष पुगेर उन्नाइस लागेकी चारुमा कुनै उत्ताउलो बानी छैन I गोरो वर्णकी चारु राम्री छ, प्रतिभाशाली छ, शालीन र शान्त छ I उसलाई फेसनमा चाख छैन I बरु कला, संगीत र साहित्यमा उसको लगाव छ I ऊ आफ्ना दाइ र दिदीलाई भन्ने गर्छे, तिमीहरु डाक्टरी गर्नु, इन्जिनियरी गर्नु, थाकेको बेलामा म कविता सुनाउंला I सबै डाक्टर र इन्जिनियर हुने हो भने कला कसले बचाउने ? इतिहास कसले पढ्ने ? साहित्य कसले पढ्ने ? कला , साहित्य र दर्शनबिना पनि जीवन त चल्ला, किन्तु जीवन्तता रहने छैन I मानवलाई खान, लाउन, सुविधा भोग गर्न र ठूलाठूला घरमा बस्न पाएर मात्र सन्तोष हुँदैन I सन्तोष भनेको छुट्टै मानसिक भाव हो, जो कला साहित्य र दर्शनले दिन्छ I

फेरि कथा सुरु भयो I

तित्रे हल्दार एकदिन घरबाट भाग्यो I ऊ कम्मरमा तीन मोहर र थैलामा एकमाना भुटेको मकै र भटमास बोकेर अज्ञात यात्रामा निस्केको थियो I अहिले सम्झना गर्दा पनि कहाली लाग्छ I कुन शक्तिले उसलाई भाग्न उक्सायो ? कुन प्रेरणा थियो जसले गाउँभन्दा एक कोष पर नगएको किशोरलाई शरीरमा लगाएको एकजोर झुत्रो लुगा र एकमाना भुटेको मकैको भरमा अन्जान यात्रामा डोर्यायो ? तित्रेसंग आज पनि यसको जवाफ छैन I आज ऊ सोच्ने गर्छ, सायद आमा रत्ने घर्तीसंग पोइल नगएको भए ऊ भाग्ने थिएन I सायद काकाले थोरै मायाका शव्द मात्र बोल्ने गरेको भए ऊ भाग्ने थिएन I ऊ सोच्ने गर्दछ, सायद त्यस बखत उसले घरमा बस्नुभन्दा भाग्ने जोखिम मोल्नुमा कम खतरा महसुस गर्यो I सायद जीवनले सुरक्षित अपहेलनाभन्दा असुरक्षित स्वतन्त्रता रोज्यो I सायद जीवनले ज्ञात दर्द र कष्टभन्दा अज्ञात दर्द र कष्टलाई कम आंक्यो I

बेतहासा दौडेर ऊ बुटवल पुगेको थियो I तित्रेलाई त्यसबखत डर लाग्यो, सायद कोही खोज्न आउला I तर यो उसको भूल मात्र थियो, ऊ खोज्न जाने हैसियतको प्राणी थिएन I बुटवलमा भौंतारिदै गर्दा उसले खानेकुराको मीठो सुगन्ध महसुस गर्यो I त्यो सुगन्ध हलुवा र पुरीको थियो I ऊ मिठाइ पसलमा छिर्यो, पसलको खाटमा गजधम्म बसेको प्राणी धेरै मोटो र अछंदिलो देखेर उसलाई किन्चित डर पनि लाग्यो I ऊ पसलको साहु थियो, हिन्दुस्ठानबाट आएर मिठाइ व्यवसाय गरिरहेको बनियाँ I सेठले तित्रेलाई ‘क्या चाहिए कान्चा’ भनेर नम्र बोलीमा सोधेको थियो I तित्रेले हलुवा र पुरीतर्फ देखाउँदै भनेको थियो ‘तो खान्चु’ I तित्रेले कम्मरको पटुकाबाट दुई आना निकालेर सेठको हातमा दियो I सेठले सोध्यो ‘कौन जातसे हो ?’ तित्रेले केही बुझेन I सेठले फेरि भनेको थियो ‘दिखनेमे तो ब्राह्मण लगते हो I’ तित्रेले ब्राह्मण शब्द बुझेछ क्यारे सेठलाई जनै देखाइदियो I त्यही बनियाको सहयोगमा तित्रेको जीवन यात्राको अर्को गन्तव्य सुरु भयो, जुन थियो काठमाडौँ

राजा त्रिभुवन जीवितै हुँदाको त्यस बखतको काठमाडौँ शहर सानै थियो, तर तित्रेको लागि भयानक I उसलाई इन्द्रचोकको एकजना हिन्दुस्ठानी मारवाडीको घरमा काम मिल्यो I उसले खाना त पेटभरि पाउन थाल्यो, तर इन्द्रचोक भित्रको कहिल्यै घाम नलाग्ने साँघुरो गल्लीमा भुइं बढार्ने र फर्स पोंछा लाउने काम अत्यन्त कठिन थियो I एकदिन ऊ सुँक्क सुँक्क रुँदै फर्स पुछिरहेको थियो I सेठकी वृद्ध माता पशुपति दर्शनको लागि तल ओर्लिन I उनले रुँदै काम गरिरहेको किशोरलाई देखेर सोधेकी थिइन्, क्या नाम है बेटा तुम्हारा ? तित्रेले भनेको थियो ‘मेरो नाम तित्रे हल्दार हो I’ आजसम्म कसैले उसको नाम पनि सोधेको थिएन I उसलाई सबै कान्चा भनेरै बोलाउँथे I आजदेखि उसलाई सबैले तित्रे हल्दार भनेर बोलाउन थाले I वृद्धाले सेठलाई बोलाएर भनिन ‘बेटा रामगोपाल अब इस बच्चेको दुकानके कामोमे लगाना, पोंछा लगानेके काममे किसी जवान नोकरको रखना I’ रामगोपालले ‘अच्छी बात है मा’ भनेको थियो I आज फेरि कुन प्रेरणाले ती वृद्धा सेठानीलाई उसको नजिक पुर्यायो, कुन शक्तिले अकस्मात उसको पोजिसन दुकानको कपडा पट्याउने र मिलाउने सहज कार्यमा परिणत गराउन सघायो थाहा छैन I

तीर्थनाथ भन्दै गए ‘मान्छेको भाग्य उसको निधारमा लेखिएको हुन्छ रे I तर भावीले लेखेको भाग्यलाई छालाले छेकेको हुन्छ I तित्रे हल्दारले सेठलाई रिझायो I सेठकी बूढीआमा भन्ने गर्दथिन् ‘देखो रामगोपाल ! जबसे ये तित्रे हल्दार तेरे दुकानमे काम करने लगा है, तबसे तेरा कारोबार बढने लगा I इस लड़केको बहुत प्यारसे राखना और इसको जितना सम्भव हो, मन और धनसे सहयोग करना I धन तो सभी कमाते हैं, लेकिन धरम भूल जाते हैं I दु:खी और गरिबोंका परोपकार सबसे बडा धरम है I जिसके कारण अपना बनता है, उसका खयाल रखना, जिसके कारण अपना बिगड जाता है, उससे भी कभी बैर न करना, किन्तु ऐसे इन्सानका संगत छोडना I इस संसारमे जितना मिलता है, वो सब भगवानका दिया हुआ है I भगवान दे सकता है तो ले भी सकता है I इस बातका हमेसा याद रखना तेरे बापू जिस वक्त राजस्थानसे काठमाडौँ आए थे, उनके पास सिर्फ तीस रुपये थे I’

तित्रे रामगोपाल सेठको कपडा दुकानको हेड मुनिम भयो I उसको लगन, इमान्दारी र कथित ‘लच्छिनको पाइलो’ ले उसलाई अग्रवाल परिवारको आँखाको नानी बनायो I उसको लागि इन्द्रचोकमा छुट्टै कपडा दुकान खुल्यो I सेठले उसको सात वर्षको तनखा हिसाब गरेर त्यही धनबाट ‘हबल्दार इम्पोरियम’ नामको सानो दुकान खोलिदियो I तित्रे अग्रवालको हेड मुनिम भएरै बसिरह्यो, उसको दुकान हेर्ने छुट्टै मुनिम नियुक्त भयो I

आज तित्रे हल्दारको पचासौं जन्मदिन I ऊ बिहानै पशुपति गयो I ऊ लगातार उभिएर ओम त्र्यम्बकं यजामाहे सुगन्धिम् पुष्टि वर्धनम् …महामृत्युन्जय मन्त्र जपिरह्यो I सांझ उसका दौंतरीहरू जम्मा भएर पार्टी गरे I साथीहरुले उसलाई व्यवसायमा कसरी सफलता हासिल गर्ने भन्ने विषयमा मन्तव्य राख्न अनुरोध गरे I उसले सानो मन्तव्य दियो I राति एघार बजे पार्टी सकिएपछि तित्रे सुत्न गयो, तर निद्रा लागेन I तित्रे अतीतमा पुग्यो I बीस वर्षको उमेरमा उसको आफ्नै स्वामित्वमा ‘हवल्दार इम्पोरियम’ को नामबाट कपडा दुकान खुलेदेखि आजसम्म उसलाई एकदिन पनि फुर्सद भएन I कपडा दुकानको नाफाबाट उसले ‘हवल्दार रेस्टुरेन्ट’ खोलेको थियो I मानिसहरु व्यवसाय सफल हुन धेरै परिश्रम र लगन चाहिन्छ, धेरै चलाख हुनु पर्छ र धेरै दौडधुप गर्नु पर्छ भन्छन् तर उसलाई त्यस्तो केही पनि गर्नु परेन I हो, ऊ नराम्रो संगतमा लागेन, खराब काम गरेन, कुनै छलकपट र धोखाधडीको बाटो अपनाएन I पछि उसले ‘हवल्दार ट्रान्सपोर्ट’ नामबाट सामान ओसारपसार गर्ने कम्पनी पनि स्थापना गर्यो I

तित्रे हल्दार दुनियाको नजरमा काठमाडौँको ठूलो सेठ हो I किन्तु ऊ आफ्नै नजरमा एक अभागी बचपन बिताएको गुमनाम र परिचयहीन व्यक्ति हो I ऊ काठमाडौँ आएदेखि आजसम्म चारभन्ज्याङ् बाहिर निस्केको छैन I उसलाई जन्मठाउँ जान मन लागेन, कुनै कुटुम्ब र छिमेकी खोज्न मन लागेन I उसको बचपनको कुनै मिल्ने साथी नभएको हुँदा साथीको सम्झना पनि गर्नु परेन I अहिले उसलाई लाग्दछ, सायद उसकी आमा पोइल जानु गलत होइन I ऊ सोच्दछ, सायद आमाका अतृप्त इच्छाहरुले उनलाई विधुर रत्ने घर्तीसंग जान प्रेरित गरे I तर बालक छोरालाई बेवारिसे छाडेर, एक शव्द पनि नभनी अकस्मात हिंड्नुलाई ऊ अहिले पनि उचित ठान्दैन I

ऊ विचार गर्दछ, यी व्यापारीहरुमा कुनै मानवीय संवेदना छैन I यिनीहरुलाई केवल कमाउनुसंग मतलव छ, केवल नाफा खाने धुन छ I यिनीहरुका बीच कहिल्यै पनि जीवनको सुखदु:खका कुरा हुँदैन I यिनीहरु भेट हुन्छन्, कारोबारको कुरा गर्छन्, सरकारको नीतिको आलोचना गर्छन् र आफ्नो लगानी डुब्ने हो कि, कतै घाटा खाइने हो कि, कतै कुनै कारोबारको सिलसिलामा फंसिने हो कि भन्ने चिन्ता मात्र व्यक्त गर्दछन् I कुनै पनि साथीले आजसम्म तित्रेको घर कहाँ हो, कसको छोरो हो, कहाँबाट आयो भनेर सोधेको छैन, उसले पनि कसैलाई भन्ने आवश्यकता देखेन I आफ्ना दु:ख र वेदनाका चार शब्द सुनाउने कोही नभएको हुँदा उसले अबोला शिवजीको सहारा लिएको छ I ऊ आफ्ना दर्दहरु पशुपतिको प्राङ्गणमा खडा भएर मनमनै जपेर उनैलाई सुनाउँछ I उनकै सामुमा आँसु झार्छ, उनैसंग नतमस्तक हुन्छ I उसले आँसु झारेको देख्ने उसका अपरिचितहरु होला कुनै दु:खी भनेर सोच्दछन् I किन्तु उसका परिचितहरू सोच्दछन्, सायद ऊ आफ्नो पापको लागि भोलेनाथसंग क्षेमा याचना गर्दैछ, कोही सोच्दछन् सायद ऊ अझै धनवान् हुन पाऊँ भन्दै शिवजीसंग पुकारा गर्दैछ I

तित्रे बीस वर्षको हुँदा उसको नाममा दुकान खुल्यो I त्यसबेला ऊ खासै खुसी, उल्लसित र हर्षित भएको थिएन I बरु ऊ अर्कै कुरामा प्रफुलित र किन्चित भयभीत पनि भएको थियो I उसले जीवनमा माया र सहानुभूति पाएको भनेको उनै सेठानीको हो, जो ऊ काठमाडौँ आएको तीन वर्षपछि उसकै काखमा मारिन् I आज उनै सेठानीकी नातिनी उपासना तित्रेको जीवनमा आई I उपासना उसकै उमेरकी थिई I तित्रेलाई पुस्तकालयबाट किताब ल्याएर ‘फुर्सदमा पढ है हल्दार’ भनेर किताब दिनु र ‘के छ हल्दारसाहेवको हालचाल ?’ भनेर सोध्नुमा कुनै आश्चर्य र अनौठो कुरा थिएन, किनकि ऊ परिवारकै सदस्य जस्तै थियो I सुरुसुरुमा न उसको मनमा कुनै अन्यथाभाव थियो, न त उपासनामै I तर विस्तारै के भयो भयो उनीहरुको सम्बन्धले अर्कै रुप लियो, जो अग्रवाल परिवारमा पालना गर्नुपर्ने अनुशासन, मर्यादा र इज्जतको नितान्त खिलाफ थियो I उनीहरुबीच कसरी प्रेम अंकुरित भयो, दुबैले चालै पाएनन I एकदिन रामगोपाल सेठले तित्रेलाई भनेको थियो ‘सच् सच् बताना हल्दार ! माजरा क्या है ?’ ऊ केही बोल्न सकेन I परिस्थितिले उसलाई आफ्नो उद्धार गर्ने अग्रवाल परिवारबाट टाढा मात्र पुर्याएन, उपासनासंग सम्पर्क गर्ने बाटो पनि बन्द भयो I एकदिन बाटोमा हिंड्दा हिंड्दै उपासनाले उसको दुकानामा एउटा सानो कागज फालेर गएकी थिई I पत्रमा लेखिएको थियो ‘‘दिलमे इक ख्वाब सा पनप गया, हृदय अनायास मचल गया, एक प्रेमका उमङ्ग सहसा मनके अन्दर तरंगित हुआ, एक हसिन सपना जो हो न सका अपना, हम तो तेरे हो गए थे सनम , ताजिंदगी तेरी ही रहनेकी उम्मीद संजोये थे, लेकिन जमानेको ये मन्जुर नहीं था, कामना हमारी थी लेकिन तकदीर किसीके हाथों मसल गया I मेरे बापने कहा ‘इस बेइमान हल्दारको भूल जा बरना मै आत्मदाह कर लुंगा I’ मै मजबूर हुँ मेरे प्यारे हल्दार ! मैने अपने बापको आत्मदाहसे बचानेका फैसला किया है I मुझे भूल जाना और हो सके तो मुझे माफ करना ‘

आज ऊ आफ्नो इतिहासभित्र आफैलाई खोज्दै छ I के उसले सेठानीलाई धोका दिएकै हो ? के उसले आफ्नो उद्धार गर्ने परिवारको मर्यादामा आक्रमण गरेकै हो ? यो घटना किन भयो ? किन नियतिले माथिमाथि उठाएर एकदिन अकस्मात पछार्यो ? ऊ निर्क्योल गर्न सक्दैन I ऊ उपासनालाई बिर्सन सक्दैन, तर उसको बारेमा सोधखोज गर्ने चाहना पनि छैन, माम्री बसेको पुरानो घाउ कोट्याएर रगतपच्छे हुन चाहदैन ऊ I उपासना आज पनि उसकी उपासना हो, तर अब ऊ उपसनालाई भेट्न चाहदैन, उसको जीवनमा अर्को भूकम्प ल्याउन चाहदैन I

उपासनाको पनि विवाह भयो र तित्रेको पनि I उपासना राजस्थान पुगी, तित्रे यहीं छ I व्यापारी साथीहरुको जोडबलमा गरेको तित्रेको वैवाहिक जीवन राम्रो हुन सकेन I जुन ‘तित्रे हल्दार’ शव्द उसको जीवनको प्रेरणा हो, पत्नीलाई सधै त्यही शव्दले लाखेटिरह्यो I जुन नामबाट उसले सदाकाल आफूलाई चिनायो, जुन नामबाट उसको ठूलो कारोबार भयो, त्यही पत्नीको लागि प्रतिष्ठाको सवाल बन्यो I पत्नीले सधैभरि उसलाई खिसी गरिरहिन I काठमाडौँको ‘सभ्य’ परिवारकी उनी तित्रे हल्दारकी ‘जहान’ बन्नुलाई इज्जत खरानी बनेको सम्झिरहिन I उनले हमेसा तित्रेको खानदानबारे सोधिरहिन्, तर तित्रेको सत्य जवाफ उनलाई कहिल्यै चित्त बुझेन I उनी तीनजना छोरा जन्माएर क्यान्सर रोगले ग्रस्त भइन I तित्रेले उनको उपचारमा कुनै कसर बाँकी राखेन, उनको गुहुमुत पनि घिन नमानी सोहोर्यो I जब पत्नीलाई तित्रेप्रति विश्वास र सहानुभूति जाग्न थाल्यो, जब उनलाई तित्रेको इमान र सच्चाइ महसुस हुन थाल्यो, उनी सदाका लागि बिदा भएर गइन् I

अहिले
तित्रे हल्दारले आफ्नो जीवनको सतहत्तरौं दशैं मनायो I उसले कारोबारबाट हात झिकेको पन्ध्र वर्ष भयो I जेठो छोरा र बुहारीलाई ‘हबल्दार सप्लायर्स’ नाम मन परेन I उनीहरुले त्यसको नाम ‘होमर सप्लायर्स’ मा रुपान्तरण गरे I अहिले त्यो पनि एकजना सरदारको हातमा बेचेर खाइसके I उसले जेठो छोरो र बुहारीको मुख नदेखेको बाह्रवर्ष भयो I माहिलो छोराको भागमा परेको ‘हवल्दार रेस्टुरेन्ट ‘हेडेन गार्डेन’ मा बदलियो I माहिलो छोरो दुईतीन महिनामा आउँछ र आधा घण्टा बस्छ I त्यो आधा घन्टामा ऊ ‘बाले राम्ररी बुद्धि पुर्याएर काम गरेको भए अहिले म पनि बिनोद चौधरीभन्दा कम हुने थिइन’ भनेर जान्छ I कान्छो छोराको भागमा परेको ‘हवल्दार इम्पोरियम’ अहिले ‘ह्यान्सी इम्पोरियम’ भएको छ I कान्छो छोरो भन्ने गर्छ, ‘बाले केही नामै नपाएजस्तो तित्रे हल्दार नाम किन राख्नु परेको होला I यहाँ आफूलाई स्पस्टीकरण दिंदा दिंदा हैरान भइसक्यो I’ बुहारी भन्छे, ‘बुवाको बुद्धि पनि त हल्दारको जस्तै थियो होला नि I बुवाले अलि बुद्धि पुर्याउन सकेको भए हाम्रो पनि दरवारमार्गमा घर हुन्थ्यो होला, अन्नपूर्ण होटेल हाम्रो स्वामित्वमा हुन्थ्यो होला I’

तित्रे हल्दारलाई आज पनि सम्झना छ, जब उसका छोराछोरी हुर्कंदै थिए, जब अब त जीवन थोरै प्रेममय होला, अब त शान्त शालीन र सुखी जिन्दगानी पाइन्छ होला, अब त एकले अर्कोको सम्मान र मर्यादा गर्दै जीवन यापन गर्न पाइन्छ होला भन्ने आशा जाग्यो, त्यसै बखतमा पत्नीको देहान्त भयो I उसले अठोट गरेका थियो, उसले बचपनमा जुन दु:ख, घृणा र अपहेलना सहनु पर्यो त्यो उसका सन्तानलाई बेहोर्न दिने छैन I उसले आफ्ना सन्तानलाई घरको काम पनि गर्न लगाएन, सधै सुख सयलमा राख्यो I

यति सबै सुनेपछि चारुले भनेकी थिई, ’त्यो कान्छो छोराको पसलको नाम त हाम्रो बाबाको पसलसंग ठ्याक्कै मिल्दोरहेछ’I अनि उसले सोधेकी थिई ’हजुरबाबा, हजुरले तित्रे हल्दारलाई चिन्नुहुन्छ ? उनी अहिले जीवित छन् कि मरिसके ? जीवित छन् भने कहाँ छन्, के गर्छन् ?” बूढाले भनेका थिए ‘म चिन्छु उसलाई, ऊ अहिले काठमाडौँमै बस्छ I’ चारुले भनी ‘म उनलाई भेट्न चाहन्छु I’ तीर्थनाथले भने ’छोरी म नै तित्रे हल्दार हुँ I

 

प्रतिक्रिया दिनुहोस