२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कागले कान लग्यो…

अ+ अ-

एउटा देश थियो त्यहाँका नागरिकहरू हल्लै हल्लामा विश्वास गर्थे । कुनै कुराको तर्क र प्रमाण आवश्यक थिएन, कसैले विध्वंस लयमा केही कुरा भन्यो कि त्यो हावा जसरी देशभरि फैलिहाल्थ्यो । त्यही देशको एउटा गाउँमा काले नाम गरेको एक जना लठेङग्रो बस्थ्यो । गाउँलेहरू कालेलाई खुब हेला गर्थे । उसँग सधैँ जिस्किएर मजा लिइरहन्थे ।
एकदिनको कुरा हो, काले एका बिहानै सुन्तलीको चिया पसलमा चिया खान गएछ । काले अलि उपद्रो र उत्पट्याङ कुरा गर्नमा खप्पिस थियो । सुन्तलीको पसलमा पुग्ने बित्तिकै पसलतिर फर्किँदै दायाँ खुट्टा उचालेर ठुलो आवाजमा “प्याट्टटटट ढ्वाँ….” पाधेछ र भनेछ-“चिया देऊ भनेको सुनिनौँ ?” सुन्तली पनि के कम धारे हात लगाएर भनिहालिन्-“तेरो पेटमा चिड्को (चट्याङ) परयो कि क्या हो ? मर्न नसकेको अस्ति” सुन्तलीको पसलमा दुई चार जना बच्चाहरू थिए । कुवाबाट पानी ल्याइदिएको, भाँडा माझिदिएको, दाउरा ल्याइदिए बापत उनीहरू चियापानी खान पल्किएका थिए । कालेले पादेको सुन्ने बित्तिकै भुराभुरीहरू त हस्याङफस्याङ फस्याङ गर्दै आआफ्नो घरमा पुगेर सुनाएछन्-“कालेको पेटमा चिड्को पर्‍यो” हल्ला गाउँभरि फैलिएछ ।

कालेलाई जसले भेटे पनि भन्न थालेछन्-“ए काले तेरो पेटमा त चिडको पर्‍यो भन्ने सुनेको हुँ, कसरी बाँचिस् हँ ? तँ त जस्ताको तस्तै छस् त ?” कालेले सुन्तलीसँग आफूले गरेको ठट्टयाउलीको चर्चा गाउँभरि फैलिएको बुझेछ र भनेछ-“त्यस्ता चिड्कोसिड्को माथिबाट कति आउँछन् तलबाट पाद बनेर जान्छन् ।” बाप्रे ! चिड्को लागेर पनि बाँच्नसक्ने मान्छे काले त जब्बर रहेछ । आकाशबाट परेको चिड्को पचाएर तलबाट फाल्न सक्नेले त एक मुक्काले मान्छेलाई ठहरै पार्न सक्छ होला ! त्रासले हिजो अस्ति हेलाँ गर्ने र जिस्किएर मजा लिनेजति डरले थर्कमान भएर सतर्क हुन थाले । बरु पहिले आफूले गरेको व्यवहारको प्रतिशोध लिन्छ कि भन्ने डरले कालेलाई मीठो मीठो खुवाउन थाले । सधैँ तँ भनेर हेलाँ गर्नेहरू आफूलाई नमस्कार गरेको देखेर काले पनि कम्ता अचम्म परेको थिएन ।

केही दिनपछि काले फेरि सुन्तलीको पसलमा चिया खान गएछ र उहीँ पाराले “ढ्वाँ……..” गरेर बेञ्चमा बसेछ । “होइन ए काले मोरो तँ जिउँदै छस् ? तेरो पेटमा त चिड्को पर्‍यो भन्ने हल्ला छ त । त्यो दिनमा मेघ पनि आएको थिएन कसरी पर्‍यो हँ तेरो पेटमा चिड्को ? पहिले दुब्लाएर अहिल्यै मर्लास् जस्तो थिस तँ त मोटाएर पो आइस त !” सुन्तलीले आश्चर्य प्रकट गरिन् ।” हेर है सुन्तली सबै गाउँलेहरू मलाई देख्ने बित्तिकै परैबाट नमस्कार गर्छन्, भेट्ने बित्तिकै मीठो मीठो खुवाउँछन्, तँ चाही हेपेर नबोल है भन्देको छु नि !” नभन्दै सुन्तलीको पसलतिर दुईचार जना तन्नेरीहरू आएछन् ।

कालेलाई देख्ने बित्तिकै कोही दर्शन त कोही नमस्कार गर्न थालेछन् । तीमध्ये एउटाले चिया पसलको आँगनीमा चरिरहेको कुखुराको भालेलाई इङ्गित गरेर भनेछ -“ ए सुन्तली लु यो भाले काटेर सफाचट गर त । आज हाम्रो कालीदास राजालाई चखाउनु परो ।” कालेलाई गरेको यत्रो मानसम्मान देखेर सुन्तली चकित भई । अघिसम्म ख्यालठट्टै सम्झेकी सुन्तलीको मनबाट शंकाले कुलेलाम ठोकेछ । र, भाले काटेर पकाउन थालिछे ! चिड्को पेटमा परेर पनि बाँच्नसक्ने महान् मान्छेको रूपमा गाउँलेहरूले श्रद्धा सम्मान गरिरहे ।

केही समयपछिको कुरा हो बाक्लो कपडा र बाहिर प्लास्टिकले कान छोपेर काले टुप्लुक्क सुन्तलीको चिया पसलमा टहलिएछ मान सम्मान श्रर्द्धाको कमी हुने कुरै भएन । सबै कुरा गरेर पनि सबै जना आश्चर्यचकित भएछन् । सबै जना मुखाँमुख गर्न थालेछन् । कसैको बोल्न आँट गर्न सकेनन् । चिड्को परेर पनि तलबाट फ्यात्त फाल्नसक्ने कालेको शरीरले भगवानबाट अलौकिक शक्ति प्राप्त गरेको गाउँलेलाई लागिरहेको थियो । आखिरीमा सुन्तलीले नै साहस गरी र भनी-“होइन राजा ! यस्तो टन्टलापुर गर्मीमा यति बाक्लो कपडा त्यसमा पनि प्लास्टिक किन बेरिबक्सेको ?” आफूलाई सधैँ तँ भनेर हेलाँ गर्ने सुन्तलीले पहिलो पटक ‘राजा’ भनेको सुनेर काले प्रफुल्तित भयो ।

काले पहिलादेखि नै सुन्तलीलाई एकोहोरो माया गर्थ्यो र जिस्काउन खोज्थ्यो तर सुन्तली अरूले झैँ उसलाई लठेङग्रो सम्झेर हेलाँ गर्थी । जहिले नामसँगै एउटा न एउटा गाली थपेर सम्बोधन गर्थी । तिनै सुन्तलीले आज ‘राजा’ भनेको सुन्दा खुसीले गद गद थियो काले।” कागले कान लग्यो नि त ! मेरो रानीलाई थाहा छैन र” प्याट्ट सुन्तलीको गालामा औँलाले हिर्काएर कालेले भनेछ । पहिले फोहोरी लाग्ने कालेको शरीर सुन्तलीलाई आज सुगन्धित लाग्न थालेछ । औँला यति बैंशालु लागे कि “एकान्त भएको भए मेरो राजालाई अँगालो हालेर औँला चुमिरहन्थे” मनमनै सोच्न थालिछ । वरपर भएका मान्छे पनि छक्क परे । यति बलमान मान्छे त कागको डरले कान छोपेर हिँडेको छ भने हामी भुसुनाको के हालत होला ! मफ्लर हुनेजतिले मफ्लरले, नहुने जतिले सर्ट पाइन्ट खोलेर आकाशतिर हेर्दै हतार हतार कान छोप्न थालेछन् । एकान दोकान मैदान हुँदै सारा देशभरि हल्ला फैलिएछ-“कागले कान लग्यो” देशका चर्चित समाचार पत्र, रेडियो र टेलिभिजनको हेडलाइन बनेछ-“कागले कान लग्यो ।” देशको सूचना तथा सञ्चार मन्त्रालयले विशेष सतर्कता अपनाउन आव्हान गर्दै जनताको नाममा सूचना जारी गरेछ-“आतङ्ककारी कागले मान्छे देख्नेबित्तिकै कान लग्न थालेकोले एक्लाएक्लै कोही पनि जनता घरबाहिर ननिस्किनु । निस्किनै पर्ने अवस्था आएमा बाक्लो कपडाले कान छोपेर हातमा कठबाँसका लौरो सहित समूहमा निस्किनु ।”

राजधानी र देशका प्रमुख सहरहरूमा बन्द हडताल हुन थाले, टायर बालेर जिन्दाबाद र मुर्दावादका नारा घन्किए-“आतङ्ककारी काग, मुर्दावाद ! राष्ट्रभक्ति जनता, जिन्दाबाद ! कान लग्न पाइँदैन, आतङ्ककारी काग चाहिँदैन । मानवअधिकारवादीहरू शान्तिको कामना गर्दै भाषणबाजीमा उत्रिए ।

चोकचोकमा भएका कोणसभा र आमसभामा यस्ता भाषण सुनिए- ‘मानव शान्ति प्रिय प्राणी हो । मानवले आफ्नो जातलाई मात्रै होइन यस धर्तीमा रहेका पशुपन्छी तथा जनावरलाई समेत माया गर्छ । मानवको धेरै समय पशुपन्छी र जनावरको पालनपोषणमा खर्च हुँदै आइरहेको छ । हाम्रो कान लगेर आतङ्क सिर्जना गरिरहेको पाजी कागले सदियौंदेखि हाम्रो बिस्कुनमाथि हमला गर्दै आइरहेको थियो । घरको आँगनमा बसेर जहिले अशुभ कराइरहे पनि हामीले कागलाई माया गर्दै आयौँ । माया मात्रै होइन, उच्च सम्मान गरेर हाम्रो महान् चाड तिहारको यमपञ्चकको एक दिन कागको लागि छुट्ट्याएर कागपुँजा गर्दै आयौँ । तर पाजी कागले हाम्रो सदासयतालाई कायरता सम्झियो, सम्मानलाई निरीहता देख्यो । बिस्कुन र घरको आँगनसम्म यसले गरेको हमला हाम्रो कानसम्म पुगेको छ । हामीले आफ्नो संयमलाई अझै कायम राख्ने हो भने यो आतंकारीले भोलि हाम्रो आँखा नठुंग्ला भन्न सकिँदैन । यो मानवअधिकारको चरम उलंघन हो । यदि हामी अझै पनि आतङ्ककारी काम विरुद्ध जाइलागेनौँ भने हाम्रो धैर्यतालाई कमजोरी ठानेर यसले हाम्रा मुटु कलेजा खान बेर लगाउने छैन ।

आँखा ठुंगेर अन्धो बनाइसकेपछि हाम्रो प्रतिरोध क्षमता कमजोर हुनेछ । हालसम्म आधिकारिक तथ्याङ्क आइ नपुगे पनि हजारौँको सङ्ख्यामा हाम्रा कान कागले लगिसकेको सुनिन आएको छ । त्यसैले अब उप्रान्त कान नलिन आग्रह गर्दै हामी ३ दिनको अल्टिमेटम दिन चाहन्छौ । सरकारलाई सत्य तथ्य छानबिन गरेर सार्वजनिक गर्न एउटा शक्तिशाली आयोग गठनका लागि हामी अपिल गर्दछौँ । यदि ३ दिनसम्म पनि कागले कान लिन छोडेन भने हात्तीलाई त कज्याएर घोडा चढ्ने मान्छे पाजी काग त के हो र अरिङ्गालको गोला खनिए झैँ हुने चेतावनी दिन चाहन्छौँ ।’

गृहमन्त्रीको अध्यक्षतामा छानबिन आयोग गठन भयो । छानबिनको घेरा साँघुरो बनाउन कुन ठाउँमा कागले कहाँबाट कति जनाको कान लग्यो अनुसन्धान गर्न आवश्यक थियो । देशभरिका सिडियो अफिसलाई काग आतङ्कको चपेटामा परेर कान गुमाउनेहरूको आँकडा छानबिन आयोगलाई पठाउन उर्दी गरियो । हप्ता दिन पुग्यो, अहँ कुनै जिल्लाबाट कान गुमाउने जनताको तथ्याङ्क फेला परेन । अन्ततः कागले कान लग्यो भन्ने हल्ला कुन जिल्लाको कुन गाउँबाट, कुन टोलबाट चलेको हो अनुसन्धानको तीर त्यतैतिर सोझ्याउने आवश्यक देखियो। अनुसन्धानको घेरा साँघुरिँदै गएर अन्तमा सुन्तलीको चिया पसलतिर डोरियो । दिउँसोको २ बजेको हुँदो हो ५ जना प्रहरीसहित १०/११ जना गाउँलेहरूले टोलीले सुन्तलीको पसललाई घेरा हाल्यो । सुन्तलीको पसल सुनसान थियो । ढोकामा चुकुल लगाइएको हुनाले जुँगे हवलदारले झस्केलाबाट सुन्तलीको पसलभित्र चियायो । मुसुस्क हाँस्दै जुँगे हवलदारले हातको सङ्केतले अरूलाई बोलायो । एक एक जना गरेर सबैले चियाउँदै मुसुसुसु हाँस्दै खित्का छोड्न कान्लातिर दौडिए ।
कुरो के भने सुन्तली त मोरो कालेको अँगालोमा कस्सिएर “मेरो राजा” भन्दै उसको औँला चुमिरहेकी रै’छिन । केही छिनपछि आवाज आउँछ-“मेरो राजा ! मलाई सम्हालिसिओस् , आ…अउ… साङ्केतिक इसारामा निर्देशन दिइरहेको जुँगे हवलदार थ्री नट थ्री राइफलको कुण्डाले भित्तामा हिर्काएर करायो-“काले ढोका खोल…” हवलदारको आवाजले कोठाभित्रको आवाज मौनतामा बिलायो । केही समयपछि पसिनाले निथ्रुक्क भिजेको रातोपिरो अवस्थामा काले बाहिर निस्कियो । केही छिनपछि सुन्तली पनि रातोपिरो अनुहारसहित बाहिर निस्किन ।

“कागले कान लग्यो भन्ने को हो ?” जुँगे हवलदार आँखा तर्दै कालेलाई खाउँला झैँ गरेर कुर्लियो । “मै हुँ सर” थुरथुर काँपिरहेको कालेको ओठबाट बोली निस्कियो । एक झापड कानमा जमाएर जुँगे गम्कियो-“लु देखा कसको कान लग्यो ?” केही नबोली काले खुरुखुरु हिँड्यो, टोलीले पछ्याइरह्यो । निकै पर बजारको एउटा मासु पसल अगाडि टक्क अभिएर कालेले जुगेँलाई मासु पसले देखाउँदै भन्यो-“सर, त्यही हो कागले कान लग्यो भनेर हल्ला गर्ने ।” थर्काउन बानी परेको जुँगेले मासु पसलेलाई थर्काउँदै भन्यो-“कागले कान लग्यो भन्ने तपाईँ नै होइन ?” बिचरा मासु पसले अलमल्ल परेर एक छिन जमिनतिर हेर्दै घोरिइरह्यो । “ओइ बोल्दैनस् ? तँलाई कसरी बोल्न लगाउनुपर्छ मैले जान्या छु । बोल्छस् कि म सिकाइदिम् ?” अघि तपाईँ भन्ने हवलदारले तँ भनेर थर्काएपछि मासु पसलेको सातो गयो र हतारिँदै सानो स्वरले बोल्यो- “मलाई थाह छैन, सर ।” “के हो यसले त थाह छैन भन्छ त ?” तिमहरू दुईजनाको टाउको ठोकाएपछि अहिले थाह हुन्छ । लु पाँच मिनेटको समय दिन्छु तिमीहरू दुईजनाको बैठक गरेर सत्यतथ्य भन । नत्र मामाको घर जान तयार हुनु ।” कालेतिर आँखा तर्दै हवलदारले आफ्नो साथका पुलिसलाई उता पट्टी बस्ने इसारा गर्‍यो ।

पाँच मिनेटपछि परतिर बसेर गनगन गरिरहेका काले र मासु पसले हवलदारको अगाडि आएर टक्क उभिए । जुँगे हवलदार जुँगामा नाउ लगाउँदै बोल्यो-“भन काले के हो कुरा ?” एउटा खुंखार अपराधीले साविति बयान दिएजस्तै गरी कालेले बिस्तारै बोल्यो – ” सर ! एक महिनाअघि म यही बाटो भएर घर जाँदै थिएँ । हाय हाय कागले कान लग्यो भनेर उहाँ कराउनु भएको मेरा यिनै कानले सुनेको हुँ, बाँकी उहाँलाई नै सोध्नुहोस् !” भन्दै कालेले मासु पसलेतिर औँला तेर्सायो । जुँगे हवलदारको प्रश्न नआउँदै बिचरा मासु पसलेले डराई डराई भन्यो- “हो सर मैले नै भनेको हुँ तर मैले मान्छेको कान लग्यो भनेको थिएन । त्यो दिन खसीको कान काटेर उ त्यो टेबुलमा राखेको थिएँ । म उता पट्टी खसीको मासु छिनालिरहेको बेला एक्कासि काग आएर टेबुलमा राखेको कानलाई झम्टियो । मैले हाय हाय भनेर कराउँदा कराउँदै कान लगेर उडिहाल्यो । त्यसपछि कागले कान लग्यो कहाँ गएको थिस् भनेर उ त्यो भाइलाई गाली गरेको हुँ ।” बोल्दाबोल्दै मासु पसलेको साहस भरिएर आएछ-“अनि हामीले कागले कान लग्यो पनि भन्न बोल्न नपाउनु सर ? आफ्नो पेसा गर्दा सत्य बोल्न पाइँदैन भने लु हाल्नुस् हतकडी । तर याद राख्नुहोस् म पनि एक्लो छैन, हाम्रो पनि सङ्गठन छ । हामीलाई पनि टायर बाल्न आउँछ, बुझ्नु भो !” मासु पसलेको आक्रोशले जुँगे हवलदार निःशब्द भयो । लाज र डरले बिचरा उल्टै रातोपिरो भयो । सबै जना हाँस्न थाले ।

घटना अन्तर्राष्ट्रियकरण भइसकेको थियो तर कुन देशको समाचार हो भन्ने यकिन हुन मात्रै बाँकी थियो । यता खसीको कान कागले लगेको तथ्य मोडिएर मन्त्रिपरिषद्, मानवअधिकार आयोग, नागरिक समाज हुँदै भाइरल भइसकेको थियो । मन्त्रिपरिषद्को बैठकमा सम्मानमय प्रधानमन्त्रीले खसीको कानले देश नै उथलपुथल हुनु सिङ्गो देशकै लज्जाको विषय भएकोले उक्त घटनालाई गुपचुप राख्न भनेर निर्देशन दिए । विश्वभरि फैलिसकेको समाचार मन्त्रिपरिषद्को बैठक कक्षको भित्तामा सीमित रहने कुरै थिएन । संयुक्त राष्ट्रसंघले समेत छानबिन सुरु गरिसकेको थियो । अन्ततः; खसीको कान कागले लग्दा पनि उथलपुथल हुने देश पत्ता लागेरै छोड्यो-नेपाल । आजकाल नेपाल हल्लै हल्लाले उथलपुथल हुने देशको रूपमा चिनिन्छ । अस्तु !

प्रतिक्रिया दिनुहोस