काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मिसन पत्रकारिता भइरहेको भन्दै सरकारबिरुद्ध फिजाईएको भ्रमबारे असन्तुष्टि जनाएका छन् ।
बुधवार त्रिभुवन विश्व विद्यालयको ६० औँ वार्षिकोत्सव कार्यक्रममा सहभागी प्रधानमन्त्री ओलीलाई हिलोमाथि रातो कार्पेट बिछ्याइएको तस्बिरबारे विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आलोचना भएपछि प्रधानमन्त्री ओलीले त्यसबारे मुख खोलेका हुन् ।
बिहीबार राजधानीस्थित होटेल याक एण्ड यतीमा सञ्चालित संविधान कार्यान्वयन र प्रशासनिक पुनःसंरचना विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा उनले भने, ‘हिजो पानी परेको थियो, कार्पेट भिज्यो, सबै ठुला मिडियामा त्यही प्रमुख समाचार बन्यो । यो मिसनअन्तर्गत भइरहेको कुरा हो ।’
यति बेला भ्रम फिँजाउने काम भइरहेको र भ्रममा रमाउनेहरू रमाइरहेको बताउँदै प्रधानमन्त्री ओलीले सरकार भने निरन्तर अगाडि बढिरहेको छ बताए ।
त्यसै गरी हिलाम्य सडकको समाचारमा पनि प्रधानमन्त्रीको असन्तुष्टि छ । ‘कालोपत्र नगरिएको बाटो हिलो भएछ, ठुलो फोटो फ्रन्ट पेजमा छापिएछ’, उनले व्यङ्ग्यात्मक शैलीमा भने, ‘मेरो कमजोरी नै हो एक वर्ष प्रधानमन्त्री भएर पनि देशभरिका बाटाहरू कालो पत्र गर्न भ्याइनँ छु, त्यसलाई स्विकार्दछु’
उनले भने, ‘धन्य हो मिसन पत्रकारिता ! ’