हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले न्यायमूर्तिहरुले निष्पक्ष रुपमा अन्यायमा परेकालाई न्याय दिनुपर्ने बताएका छन् ।
प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा कानून दिवस २०७५ का अवसरमा आज बिहान हेटौँडामा गरिएको कार्यक्रमको उद्घाटन गर्दै उनले न्यायाधीश कुनै बेलामा निर्मम बनेर भए पनि न्याय दिनु पर्ने बताएका छन् ।
अन्यायमा परेकालाई न्याय दिनका लागि कुनै कसर बाँकी राख्न नहुने उनको भनाइ छ । न्यायमा सबै नागरिकको पहुँच हुनुपर्ने बताउँदै उनले भने, ‘सबै क्षेत्रमा सबैको समान पहुँच हुनुपर्छ । न्याय दिने न्यायमूर्तिले निष्पक्ष रुपमा न्याय दिनुपर्छ ।’
उनले सरकारले गर्ने गौरवका आयोजनामा बाधा–अवरोध आएकाले त्यसो नगर्न आग्रहसमेत गरे ।
प्रदेश ३ कै आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले पहुँचका आधारमा न्याय दिने काम अब रोकिनुपर्ने बताए ।