रत्ननगर । भरतपुर सबस्टेशनमा रहेका ‘फिडर’ मा दैनिक चारदेखि पाँच घण्टासम्म विद्युत्भार कटौती हुने भएको छ । शुक्रबारदेखि सो सबस्टेशनका १५ एमभिएका ट्रान्सफर्मर हटाएर ३० एमभिएका ट्रान्सफर्मर राख्ने काम शुरु गरिएकाले दैनिक तीन पटकसम्म गरी ५ घण्टा विद्युत्भार कटौती गरिने विद्युत् प्राधिकरण कार्यालयका प्रमुख सुरेशकुमार महतोले जानकारी दिए ।
‘एक हप्तासम्म १५ एमभिए ट्रान्सफरमर परिवर्तन गरी सक्छौ’, उनले भने, ‘यो काम सकेपछि २२ एमभिएका ट्रान्सफर्मर पनि परिवर्तन गर्ने र ३७ एमभिए क्षमतालाई ६० पुर्याउछौ ।’ बढ्दो शहरीकरणसँगै अत्यधिक विद्युत्को माग र ट्रान्सफरमरले लोड नधानेपछि क्षमता वृद्धि गर्नु परेको उनले जानकारी दिए ।
प्रमुख महतोले यो समयमा माडी, चनौली, गीतानगर, रामपुर फिडरमा जोडिएका ग्राहकको विद्युत आपुर्ती बन्द नहुने बताए ।