बागलुङ । गल्कोट बजारमा ग्यास लिक भएर घरमा आगलागी भएको छ । आगलागीबाट घर जलेर पूर्णरुपमा नष्ट भएको छ ।
गलकोट नगरपालिका -६ हरिचौर चरौदीका हेमबहादुर खत्रीको गल्कोट नगरपालिका–३ हटिया बजारमा रहेको तीन तले घरमा आगालागी भएको हो ।
आगलागीबाट डेरा गरी बस्नेहरुको सामानसहित करिब १५ लाख बराबरको क्षति भएको प्रहरी चौकी हटियाले जनाएको छ।
आगलागीबाट अन्य घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । घरमा डेरा गरी बस्ने बिना दर्जीले खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको जनाएको छ ।
शनिबार राति ७ बजेतिर लागेको आगो स्थानीयवासी र जनप्रतिनिधिको सक्रियतामा नियन्त्रणमा लिइएको हो । तीनतला रहेको उक्त घरको पहिलो तलामा होटल र दोश्रो तथा तेश्रो तलामा भाडामा मानिस बस्दै आएका थिए।