काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले बहराइनमा रहेका नेपाली घरेलु कामदारले भोग्दै आएको समस्यालाई सरकारले गम्भीरतापूर्वक समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाली राजदूतावास, मनमाले सोमबार मनमामा आयोजना गरेको लगानी प्रवर्द्धन तथा व्यापार विविधीकरणसम्बन्धी छलफललाई सम्बोधन गर्दै मन्त्री यादवले बहराइनमा नेपाली घरेलु कामदारले भोग्दै आएका समस्याबारे सरकारले समाधान खोज्ने बताएको बहराइनका लागि नेपाली दूतावासले जनाएको छ ।
मन्त्री यादवले जनहितका पक्षमा प्रभावकारी सेवा प्रदान गर्न नेपाली दूतावासलाई निर्देशनसमेत दिए । सोही अवसरमा राजदूत पदम सुन्दासले श्रमसम्बन्धी समस्या छिट्टै समाधान गर्ने विश्वास व्यक्त गरे।
सहभागीले मन्त्रालयका सचिव यामकुमारी खतिवडासँग बहराइनमा नेपाली समुदायले भोग्नुपरेको समस्या र समाधान, लगानी प्रवर्द्धन तथा व्यापार विविधीकरणका विषयमा जिज्ञासा राखेका दूतावासद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
कार्यक्रममा राजदूतावासका नियोगका उपप्रमुख खगराज पाण्डेले सुझाव सङ्कलन गरेर जतिसक्दो चाँडो समस्या समाधान गर्ने बताए । कार्यक्रममा करीब ५० वटाभन्दा बढी नेपाली संघसंस्था तथा सङ्गठनका प्रतिनिधिको उपस्थिति थियो ।