काठमाडौं । बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा नेपाल प्रहरी अस्पताल महाराजगंजबाट खटिएको विशेषज्ञ चिकित्सकसमेतको १९ जना स्वास्थ्यकर्मीहरूको टोलीले मंगलबार नि:शुल्क स्वास्थ्य शिविर संचालन गरेको छ ।
बारा फेटा गाउँपालिका-१ भलुही र भर्वलिया तथा सोही गाउँपालिका-६ पुरहनियाका हावाहुरी प्रभावित स्थानीयलाई उक्त टोलीले स्वास्थ्य परीक्षण गरी नि:शुल्क औषधी समेत वितरण गरेको छ । शिविरमा करिब ३ सय जनाले स्वास्थ्य सेवा लिएका छन् ।
यसैगरी पर्सा वीरगंज महानगरपालिका-२२ जगरनाथपुरस्थित हावाहुरी प्रभावित स्थानीयका लागि उक्त टोलीले निस्शुल्क स्वास्थ्य शिविर संचालन गरी स्वास्थ्य परीक्षण गरेको छ । शिविरमा निस्शुल्क औषधी समेत वितरण गरिएको छ । सो शिविरमा १ सय ९३ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
साथै स्वास्थ्यकर्मीहरूको टोलीले वृद्ध, अशक्त तथा बालबालिकाहरुलाई सम्बन्धितको घर ठेगानामा समेत गएर स्वास्थ्य सेवा पुर्याएको छ ।