काठमाडौं । नेपाल पत्रकार महासंघको ६४औँ स्थापना दिवसका अवसरमा दुईदिने जनसरोकारको विषयमा रिपोर्टिङसम्बन्धी पत्रकारिता तालीम शुरु गरिएको छ ।
महासंघले आयोजना गरेको सो तालीमको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले अबको पत्रकारिता सत्यतथ्य र तथ्याङ्कमा आधारित हुनुपर्ने बताए । उनले भने, ‘हुँदै नभएको कुरा लेख्नेभन्दा पनि अलिक सत्यतथ्यमा आधारित भएर सूचना प्रवाहमा ध्यान दिन आग्रह गर्दछु ।’
महासंघका अध्यक्ष गोविन्द आचार्यले महासंघले विगतदेखि नै पत्रकारको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालीमको आयोजना गर्दै आएको बताए ।
तालीमका प्रशिक्षक मोहन मैनालीले पत्रकारका लागि जनसरोकारका विषयमा अन्त्यन्तै न्यून तालीम हुने गरेको भन्दै महासंघले आयोजना गरेको तालीम महत्वपूर्ण रहेको बताए । विभिन्न सञ्चारमाध्यममा कार्यरत २५ पत्रकारको सहभागिता रहेको सो तालीम सोमबार सकिनेछ ।