काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले कानूनी दायराभित्र रहेर तोकिएको काम गर्न र राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर जलविद्युत् आयोजनामा तीव्रता साथ काम गर्न आग्रह गरेका छन् ।
विभिन्न जलविद्युत् आयोजनाका प्रवर्द्धकसँग मन्त्रालयमा आज आयोजित अन्तक्रियालाई सम्बोधन गर्दै उनले आयोजना मात्रै जिम्मा लिएर बस्ने र काम नगर्ने प्रवृत्ति त्याग्न र तोकिएको समयमा निर्माण सक्न ध्यानाकर्षण गराएका हुन् ।
‘हामी समस्या समाधानका लागि प्रतिबद्ध भएर नै लागेका छौँ’, मन्त्री पुनले भने, ‘वास्तवमै समस्या समाधान होओस् भन्ने पक्षमा सरकार छ, हामी प्रवर्द्ककको माग र समस्याको समाधान गर्न चाहन्छौँ, सरकारको इच्छा र चाहनालाई समेत प्रवर्द्ककले ध्यान दिनुपर्छ ।’
उनले काम नगर्ने र केवल आयोजना मात्रै लिएर बस्ने प्रवृत्ति त्याग्न प्रवर्द्ककलाई आग्रह गरे । उनले सरकारले उत्पादन भए जति सबै विद्युत् खरीद गर्ने प्रतिबद्धता जनाइरहेको बेला निजी प्रवद्र्धकले समेत सरकारको सोच र चाहनालाई सम्बोधन गर्ने गरी काम गर्नुपर्ने बताए ।
वन क्षेत्रको जग्गा प्रयोग, जग्गा प्राप्ति तथा अन्य समस्यासमेत समाधान गर्ने गरी प्रक्रिया अगाडि बढाइएको र अन्तर सरकारी निकायबीच समेत समन्वयको प्रयास गरिएको उल्लेख गर्दै मन्त्री पुनले आयोजनाको अनुमति मात्रै लिने र काम नगर्ने प्रवृत्ति भने सरकारलाई सह्य नभएको बताए ।
सरकार ऊर्जा तथा जलस्रोतका क्षेत्रमा देखिएको समस्या समाधान गरेर आर्थिक समृद्धिलाई प्रभावकारी रुपमा अगाडि बढाउन तयार रहेको भन्दै उनले निजी क्षेत्रले पनि त्यसमा साथ दिनुपर्ने बताए ।
यस्तै निर्माण सामग्रीको सुरक्षा र गुनासो आउने गरेको भए पनि समाधानका लागि कोसिस गरिएको उनको भनाइ छ । छलफलमा विभिन्न १७ आयोजनाका प्रवर्द्धकको सहभागिता थियो ।