काठमाडौँ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आधारभूत प्रशासन प्रशिक्षणमा रहेका ब्याट ३३ का प्रशिक्षार्थी अधिकृतहरूले ब्याट नै बहिष्कार गर्ने चेतावनी दिएका छन् ।
समायोजन अध्यादेशमा भएका विभेदकारी व्यवस्था संशोधन गर्नुपर्ने माग गर्दै ब्याट ३३ मा रहेका १२ वटा गु्रपहरुले प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेलाई भेटेर बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।
ब्याट ३३ मा रहेका १२ वटा गु्रपहरुमध्येबाट दुई/दुई जनाका दरले २४ जनाको समूहमा गएको टोलीले कार्यकारी निर्देशक न्यौपानेलाई ब्याट नै बहिष्कार गर्ने चेतावनी दिएका छौँ सहभागी एक अधिकृतले प्रशासनलाई भने, जुनिएर कर्मचारी पेलानमा पर्ने गरी आएको अध्यादेश संशोधन भएन भने थप कडा आन्दोलन गर्ने तय भएको छ ।
अध्यादेशले जुनियर ब्याटका अधिकृतहरूको वृत्ति विकास रोकेको ठहर उनीहरूको छ ।
सङ्घीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन आएको छैन सहभागी अर्का एक अधिकृतले भने, सेवा सञ्चालन नभईकन एकै पटक कर्मचारी जाने व्यवस्थाले जुनिएर कर्मचारी पेलानमा पर्ने र फ्रष्टेसन भएर गएको कर्मचारीले सेवा सञ्चालनमा सन्तुष्टि दिन नकस्ने भएकोले सच्याउन माग गरेका हौँ ।
समायोजन सम्बन्धमा मौखिक रूपमा केही कुरा राखेको निर्देशक न्यौपानेले स्विकारे । अल्टिमेटम दिएको तथा आधिकारिक धारणासहित आएका होइनन्, न्यौपानेले भने, आधिकारिक पनि हैन र त्यस्तो शब्दावली पनि प्रयोग भएको छैन ।
हाल प्रतिष्ठानमा नेपाल प्रशासन, लेखापरीक्षण, परराष्ट्र र न्याय सेवाका गरी करिब ३६० जना प्रशिक्षार्थी अधिकृत आधारभूत प्रशासन प्रशिक्षणमा रहेका छन् ।