ग्वार्को फ्लाईओभरको डिजाइन परिवर्तनको चर्चाले उब्जाएको आशङ्का  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

ग्वार्को फ्लाईओभरको डिजाइन परिवर्तनको चर्चाले उब्जाएको आशङ्का 


३१ असार २०८०, आइतबार


काठमाडौँ । निर्माणाधीन ग्वार्को फ्लाईओभरमा डिजाइनमा समस्या देखिएको छ । ठेकेदार कम्पनीले सुरूमा पेश गरेको डिजाइनमा समस्या देखिएपछि पुनः नयाँ डिजाइनको काम भइरहेको छ । 

इक्युपमेन्टको अभाव देखाउँदै निर्माणाधीन फ्लाईओभरको डिजाइन परिवर्तन गर्न लागिएकोप्रति आशङ्का पैदा भएको छ । डिजाइन परिवर्तनको चर्चासँगै फ्लाईओभर निर्माण अलपत्र हुने हो कि भनी चिन्ता एकातिर छ भने त्यसैका नाममा बजेट बढाउने र वहुवर्षिय योजना बनाउने खेलो हुन सक्ने आशङ्कासमेत गरिन थालेको छ । 

आशिष–समानान्तर–रेलिगेर जेभीले ठेक्का लिएको थियो । डिजाइनमा पुनर्विचार (रिभाइज) गर्न निर्माण कम्पनीलाई भनिएको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ । 

केन्द्रका सिनियर डिभिजन इन्जिनियर (सिडिई) राकेश महर्जनका अनुसार इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत भएको ठेक्कामा निर्माणका क्रममा डिजाइनअनुसार फिल्डमा काम गर्न कठिन भएकाले रिभाइज गर्न लागिएको हो । ईपीसी मोडलको ठेक्का अन्यभन्दा केही फरक छ । ईपीसी ठेक्कामा निर्माण व्यवसायीले नै डिजाइन गरेर काम गर्ने गर्दछन् । 

‘दुईचार दिनमा डिजाइन पेश गर्छु भनेको छ । मुख्य डिजाइन नै परिवर्तन गरेको होइन ।’ उनले भने, ‘पहिले कम्पनीले धेरै गहिरो राखेर नम्बरअफ फाइल कम राख्ने भनेर प्रस्ताव पेश गरेको थियो । हामीले पनि स्वीकृति दियौँ । अहिले त्यो खालको इक्युपमेन्ट नभेटेपछि नम्बरअफ फाइल बढाइ गहिराइ घटाउने भन्ने हिसाबले प्रस्ताव पेश गर्छु भनेको छ ।’

नयाँ डिजाइनको प्रस्ताव पेश भएपछि काम सुरु हुने केन्द्रले जनाएको छ । केन्द्रका अनुसार डिजाइनमा समस्या देखिएको साइटको काम मात्र रोकिएको छ । अन्य साइटको काम भइरहेको छ ।

निर्माणाधीन ग्वार्को प्लाईओभरमा नयाँ प्रविधि फाइल र एमएसीमा समस्या देखिएको हो । हाइटको फिलङ टिकाउ हुन्छ हुँदैन ? माटोको भार कति थेग्छ ? भन्ने बारेमा ठेकेदारले स्पष्ट जवाफ दिन सकेको छैन । ठेकेदारको स्पष्ट जवाफ नआउँदा बिस्तारै पछि समस्या आउन सक्ने र दुई तीन वर्षपछि क्रयाक आउन सक्ने भन्दै सडक विभागले चासो राखेको बताइएको छ, यद्यपि विभाग तथा मन्त्रालयकै केही उच्च अधिकारीको मिलेमतोसमेत हुन सक्नेसमेत मन्त्रालयका एक उच्च अधिकारीले बताए । ‘ठेक्का लगाई हाल्ने, बाँकी देखा जायगा भन्ने सडक क्षेत्रको पुरानै रोग हो’, ती अधिकारीले भने, ‘भेरियसन–यो, त्यो भनेर आयोजना लम्ब्याउँदै कमाई  खाने भाँडो बनाउनु हुँदैन भन्ने नै हो’

ठेक्का हात पार्न कम्पनीले आफूसँग नभएको इक्युप्मेन्ट प्रयोग गर्ने प्रतिबद्धता जनाएको यसबाट स्पष्ट भएको छ । नेपालमा नभएको इक्युपमेन्ट बाहिरबाट ल्याएर काम गर्न सकिने भए पनि इक्युपमेन्ट ल्याउनु भन्दा डिजाइन नै नयाँ बनाउन लागिएको हो । निर्माणका क्रममा प्रयोग हुने इक्युप्मेन्ट, हाइटको फिलङ टिकाउ हुन्छ–हुँदैन, बाटोमा माटो पुर्दा त्यसले लोड धान्छ  धान्दैन जस्ता विषय सम्झौताकै क्रममा स्पष्ट नपारेका कारण अहिले समस्या देखिएको हो । 

एमएसी वाल र पुल नजिकै पुग्दा साढे १० मिटर उचाइमा बन्ने बाटोमा माटो पुर्दा त्यसले कसरी लोड धान्छ ? भन्ने प्रश्नको जवाफ दिन नसकेपछि ठेकेदारले पुनः डिजाइनमा रिभाइज गर्न प्रस्ताव गरेको हो । पिलरको फाउन्डेसन जमिनमुनी ३४ मिटर गाड्नु पर्ने थियो । त्यसका लागि जमिनमुनी केसिङ राख्नु पर्छ । केसिङ राख्न डिपमा इक्युपमेन्ट उपलब्ध नभएपछि डिजाइन रिभाइज गरेर पेश गर्न लागिएको हो । 

जसमा सडक विभागको समेत कमजोरी छताछुल्ल भएको छ । छँदाखाँदाको सडक भत्काएर आधा खनी सकेपछि, अझ भन्नुपर्दा निर्माण प्रक्रिया नै शुरु नहुँदै उपकरणका नाममा डिजाइन नै परिवर्तन गर्न थालिनुले पनि यो प्रस्ट हुन्छ कि यसमा ठुलै रकमको चलखेल गरिँदै छ । जसबाट नागरिकले सास्ती त पाएका छन् नै, राज्यले नोक्सानीसमेत व्यहोरिसकेका छ भने थप नोक्सानीका लागि केही अधिकारीहरू उद्यत देखिएको विभागकै एक अधिकारी बताउँछन् । 

निर्माणाधीन फ्लाईओभरको डिजाइन परिवर्तनप्रति कुनै आशङ्का गर्नु नपर्ने सडक विभागले जनाएको छ । विभागका महानिर्देशक सुशील बाबु ढकालले मुख्य डिजाइन परिवर्तन नहुने जानकारी दिए । ‘हाम्रो रिक्वारमेन्ट फुलफिल हुने गरेर काम हुनुपर्छ । डिजाइन पनि त्यही अनुसार परिवर्तन हुने हो ।’ उनले भने, ‘फाइल फाउन्डेसन फुल डेफ्थ केसिङ गर्ने भन्ने छ । यो सम्झौता भन्दा दायाँबायाँ हामी जान सक्दैनौँ । डिजाइनमा जस्टीफाइ गर्न नसकेपछि रिभ्यु गर्नुपर्ने अवस्था आएको हो ।’

विभागका अनुसार डिजाइनकै कारण नेपाल सरकारलाई थप आर्थिक भार पर्ने छैन । र, यही कारण ईपीसीमा म्याद पनि थप हुने छैन । दुई वर्षभित्र निर्माण सक्ने गरी २०७९ माघ २७ मा ग्वार्को फ्लाईओभर ठेक्का भएको थियो । २०७९ मंसिर १६ देखि निर्माण सुरू भएको थियो । १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा भएको सम्झौतामा आवतजावतको संरचनासहित फ्लाईओभरको दूरी ५४० मिटर रहनेछ  ।

तर, यही र यस्तै गतिले के समयमै निर्माण होला त भन्ने कुरामा भने कसरी विश्वास गर्ने ? 

Tags :
प्रतिक्रिया दिनुहोस