महानगरले हटायो सिहंदरवार अगाडिका अवैध संरचना « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

महानगरले हटायो सिहंदरवार अगाडिका अवैध संरचना


९ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सिहंदरवार अगाडि रहेका अवैध संरचना र अव्यवस्थितरूपमा फालिएका फोहरमैला हटाएको छ ।

राष्ट्रिय वाणिज्य बैंकदेखि नेपाल टेलिकम केन्द्रीय कार्यालय वरिपरिका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला हटाएको हो । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले तीन दिन अगाडिदेखि भवन वरिपरिका अव्यवस्थित फोहरमैला हटाउन माइकिङ गरेको र आज महानगरले विशेष सरसफाइ अभियान सञ्चालन गरेको जानकारी दिए ।

“सिंहदरवार अगाडिका अवैध संरचना तथा अव्यवस्थित फोहरमैला हटाएका छौँ । आफ्नो घर, कार्यालय अगाडि सरसफाइ गरिदिनका लागि महानगरले अनुरोध गर्दै आएको छ । महानगरलाई स्वच्छ, सफा बनाउन सम्पूर्ण व्यक्ति जिम्मेवार हुनुपर्दछ”, उनले भने ।

सरकारी कार्यालय अगाडि अवैध संरचना तथा अव्यवस्थित फोहरमैला राखेमा जरिवाना गर्नुपर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए । सिंहदरबारको पश्चिमगेट अगाडि पुल मुनी रहेका रेष्टुराँलगायतले निर्माण गरेका अवैध संरचना हटाइएको हो । महानगरले टुकुचा खोला वरपर सफा गर्नुका साथै शौचालयलगायतका संरचना हटाएको छ ।

महानगरले विभिन्न ठाउँमा प्रत्येक दिन विशेष सरसफाइ अभियान सञ्चालन गर्दै आएको बताउँदै उनले आगामी शनिबार वृक्षारोपणको कार्यक्रम गर्ने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस