व्यवस्थापन परीक्षण र देखिएका कैफियतहरू « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

व्यवस्थापन परीक्षण र देखिएका कैफियतहरू


७ बैशाख २०७८, मंगलबार


सार्वजनिक निकायहरूले सम्पन्न गरेका क्रियाकलापहरूको सान्दर्भिकता, जबाफदेहिता र प्रभावकारिता परीक्षण गर्ने कार्य नै व्यवस्थापन परीक्षण (म्यानेजमेन्ट अडिट) हो । सामान्य प्रशासन मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायहरू (लोक सेवा बाहेक) मा कार्यरत निजामती कर्मचारीले प्रचलित कानुन तथा अन्य प्रशासकीय नियम र कार्यविधिहरूको पालना गरे नगरेको सम्बन्धमा व्यवस्थापन परीक्षण गर्दै आएको छ । हाल व्यवस्थापन परीक्षण निर्देशिका, २०६७ कार्यान्वयनमा रहेको छ ।

उद्देश्य :
– सङ्गठनमा काम गर्ने जनशक्तिलाई कर्तव्य र उत्तरदायित्व पालना गराउने, जबाफदेहिता सिर्जना गराउने ।
– व्यवस्थापनको कार्यदक्षता जाँच्ने, प्रभावकारिता जाँच्ने ।
– कार्य प्रक्रियाको सुपरिवेक्षण, अनुगमन र मूल्याङ्कन गर्ने ।
– गतिशील सङ्गठन र जबाफदेही प्रशासन निर्माण गर्ने ।

नागरिकले प्राप्त गर्ने सेवा सुविधालाई छिटो, छरितो, गुणस्तरीय, प्रभावकारी, पारदर्शी, परिणाममुखी तथा नागरिक मैत्री बनाई प्रशासनको प्रत्याभूति दिलाउन सरकारले विभिन्न नीतिगत, संस्थागत, प्रक्रियागत कार्यविधिगत व्यवस्थाहरू गरेको छ । उक्त व्यवस्थाहरू सुव्यवस्थित र क्रियाशील रहे नरहेको विषयमा विभिन्न विधि मार्फत परीक्षण र मूल्याङ्कन गर्ने व्यवस्थासमेत गरिएको छ । यस विधि मध्ये व्यवस्थापन परीक्षण एक महत्त्वपूर्ण औजारकोरुपमा रहेको छ ।

व्यवस्थापन परीक्षणका क्षेत्रहरू :
१. सङ्गठनात्मक नीति र व्यवहार
२. सङ्गठन संरचना
३. कार्य प्रक्रिया र कार्यालय विन्यास (अफिस ले आउट)
४. कर्मचारी व्यवस्थापन र अभिलेख
५. आर्थिक प्रशासन र जिन्सी व्यवस्थापन
६. सेवा प्रवाह र पारदर्शिता
७. सूचना प्रविधिको प्रयोग
८. गुनासो व्यवस्थापन
९. विविध

व्यवस्थापन परीक्षणका विधि :
१. अनुसूची फारामहरूको प्रयोग गरी विवरण सङ्कलन (प्रश्नावली)
२. प्रत्यक्ष अध्ययन, अवलोकन
३. छलफल, अन्तरक्रिया एवं संवाद (कार्यालय प्रमुख र कर्मचारीहरूसँग )
४. सेवाग्राहीसँग सोधपुछ र अन्तरक्रिया
५. कागजात तथा प्रभावहरूको अध्ययन

महत्त्व :
१.कर्मचारीबाट हुने काम कारबाहीहरू प्रचलित कानुन बमोजिम भए नभएको परीक्षण गरी देखिएका कमीकमजोरी, त्रुटि र अनियमिताहरुलाई उजागर गर्ने, सुधारका लागि सुझाव प्रस्तुत गर्ने ।
२. सङ्गठनका दुर्बल पक्षहरू हटाउन आवश्यक उपायहरूसमेत सिफारिस गर्ने ।
३. उपलब्ध स्रोत साधनको उच्चतम प्रयोग गरी सङ्गठनमा गतिशीलता र प्रभावकारिता वृद्धि गर्न सहयोग गर्ने ।
४. व्यवस्थापनमा हुन सक्ने अव्यवस्था र त्रुटिहरूको रोकथाम गरी जबाफदेहिता अभिवृद्धि गर्न सहयोग गर्ने ।
५. सङ्गठनको सम्पूर्ण तहको कार्यक्षमता जाँच गर्ने ।
६. सङ्गठनमा कार्यान्वयन तहका समस्याहरू पत्ता लगाई सुझावहरू सिफारिस गर्ने ।
७. विधिको शासन सञ्चालनमा सहयोग गर्ने ।
८. सुशासन अभिवृद्धि गर्ने ।

व्यवस्थापन परीक्षणको क्रममा देखिएका कमी कमजोरी :
– प्रचलित कानुनको पूर्ण परिपालनाको कमी,
– सुरक्षित तथा अनुकूल कार्य वातावरणको अभाव ।
– कर्मचारीहरूमा न्यून उत्प्रेरणाको अवस्था, कमजोर मनोबल ।
– नागरिक समाजको सहयोग एवं संस्थागत निकायहरूको समन्वयमा कमजोरी ।
– सुस्पष्ट कार्य विवरण तोकी जिम्मेवारी तुल्याउन नसकिएको ।
– सङ्गठनको उद्देश्य, संरचना र विद्यमान जनशक्तिबिच तालमेल मिल्न नसकेको ।
– अभिलेख व्यवस्थापनको पक्ष कमजोर रहेको ।
– निजामती सेवा ऐन तथा नियमावलीको पूर्ण पालना हुन नसकेको ।
– कार्यालयको कार्य वातावरण सेवा प्रदायक तथा सेवाग्राही मैत्री नभएको ।
– जनशक्तिको क्षमता, सेवाग्राहीको चेतना स्तर कमी ।
– संस्थागत सुशासनका पक्षहरूमा ध्यान कम पुगेका ।
– तलबी प्रतिवेदन पारित गर्नुपर्ने कानुनी प्रावधानको पूर्ण पालना नभएको ।
– कार्य विवरण लागू हुन नसकेको ।
– सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणको आधारमा सङ्गठन संरचना पुनरावलोकन हुन नसकेको ।
– सूचनामा सर्वसाधारणको पहुँच सहज नरहेको ।
– भौतिक व्यवस्थापन सेवाग्राहीमैत्री, लैङ्गिक मैत्री तथा अपाङ्गमैत्री नरहेको ।
– सेवाग्राहीको पृष्ठपोषण लिन नसकिएको ।
– पेस्की तथा बेरुजु फर्छ्यौट, जिन्सी व्यवस्थापन, सूचना प्रविधिको उपयोग जस्ता पक्षहरू कमजोर रहेको ।

उपसंहार :
निजामती सेवामा बढ्दै गइरहेको विविधताको व्यवस्थापन, सूचना प्रविधिको उच्चतम उपयोग, सेवा प्रवाहमा समान पहुँचको लागि लैङ्गिक मैत्री, बालमैत्री, अपाङ्गमैत्री, नीति, नियम, कार्यविधि, पूर्वाधार संरचनाहरू निर्माण तथा संस्थागत क्षमता अभिवृद्धिका विषयहरूमा ध्यान पुर्‍याउनु पर्ने देखिन्छ ।

सन्दर्भ सामाग्री :
१. व्यवस्थापन परीक्षण निर्देशिका, २०६७
२. व्यवस्थापन परीक्षण सम्बन्धी प्रतिवेदनहरू ।

 

Tags :
प्रतिक्रिया दिनुहोस