जनतामा तत्काल आशा जगाउने योजनाहरू अघि बढाउन मन्त्री र कर्मचारीलाई निर्देशन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

जनतामा तत्काल आशा जगाउने योजनाहरू अघि बढाउन मन्त्री र कर्मचारीलाई निर्देशन


११ बैशाख २०८१, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि, रोजगारी सिर्जना हुनेजस्ता जनतामा तत्काल आशा जगाउने योजनाहरू तत्काल अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

मंगलबार लगानी बोर्ड बैठकमा बोल्दै उनले अर्थमन्त्री वर्षमान पुन, मुख्य सचिव डा. वैकुण्ठ अर्याल र लगानी बोर्डका सिईओ सुशील भट्टलाई सो निर्देशन दिएका हुन्। उनले निजी क्षेत्रलाई विश्वासमा लिएर मात्रै मुलुकको विकास हुने भएकाले त्यस अनुकूल हुने गरी सरकारले अध्यादेशमार्फत ९ वटा ऐन संशोधन गर्न लागेको पनि स्पष्ट पारे।

प्रधानमन्त्री दाहालले निजी क्षेत्रलाई विश्वासमा लिएर विकासको कामलाई अघि बढाउने कुरामा नडराउन पनि कर्मचारी प्रशासनलाई सचेत गराए।

उनले कर्मचारी प्रशासनले आफूहरूको स्पिडअनुसार काम गर्न नसकेको गुनासो गर्दै नयाँ ढंगले काम गर्न पनि निर्देशन दिए। प्रधानमन्त्री दाहालले लगानी सम्मेलन लगानीका लागि नयाँ सन्देश दिने गरी सम्पन्न हुने गरी तयारी गर्नुपर्ने पनि बताए।

‘निजी क्षेत्रलाई कन्ट्रोल नै गरेर राख्नुपर्छ भन्ने सोच राजनीतिक नेतृत्वमा र ब्यूरोक्रेसीमा जहाँ छ, ती देश पछि परेको पर्‍यै, पछि परेको पर्‍यै भएका छन्। त्यसकारण आजको छलफल मैले कुन अर्थमा पनि महत्त्वपूर्ण ठाने भने विकास गर्ने निजी क्षेत्रले नै हो,’ उनले भने,’निजी क्षेत्रलाई सुविधा दिन नडराऔँ। कहीँ न कहीँ उही पुरानै नियम, पुरानै कानुन, पुरानै परम्परा, पुरानै सोच हाबी भइराखेको हुन्छ।’

प्रधानमन्त्री दाहालले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा सरकारले साना सिँचाइको कार्यक्रमलाई विशेष व्यवस्था गर्ने पनि बताए। उत्पादन बढाउने, रोजगारी पनि दिने भएकाले सरकारले यस्ता साना कार्यक्रमलाई विशेष जोड दिन चाहेको प्रधानमन्त्री दाहालको भनाइ थियो।

Tags :
प्रतिक्रिया दिनुहोस