कूटनीतिक राहदानी दुरुपयोगमा खानेपानी सचिव आचार्यसहित ३ जनालाई कारबाही गर्न अख्तियारलाई पत्र « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

कूटनीतिक राहदानी दुरुपयोगमा खानेपानी सचिव आचार्यसहित ३ जनालाई कारबाही गर्न अख्तियारलाई पत्र


२७ चैत्र २०८०, मंगलबार


अख्तियार

काठमाडौँ । कूटनीतिक राहदानी दुरुपयोगमा दोषी देखिएको भन्दै खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई कारबाहीको सिफारिस भएको छ । 

राष्ट्रिय सतर्कता केन्द्रले यसै साता अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेख्दै कूटनीतिक राहदानी दुरुपयोगमा सचिव आर्चाय दोषी देखिएको भन्दै कारबाहीका लागि सिफारिस गरेको हो । केन्द्रले राहदानी दुरुपयोग कसुरमा कारबाही गर्न पत्राचार गरेको जनाएको छ । आचार्य बिदामा बसेका बेला कूटनीतिक राहदानीको दुरुपयोग गरी मन्त्रालयको नेतृत्व गर्दै भारत भ्रमणमा गएका थिए ।

सम्बन्धित समाचार : खानेपानी मन्त्रालयका सचिव आचार्यबाट कूटनीतिक राहदानी दुरुपयोग, अघि बढ्यो अनुसन्धान

सतर्कता केन्द्रका अधिकारीले भने, ‘हाम्रो अनुसन्धानमा तीन जना दोषी देखियो । रातो पासपोर्ट दुरुपयोगमा कारबाहीका लागि अख्तियारलाई पत्र पठाएका छौँ ।’ केन्द्रले आचार्यसहित तीन जनालाई कारबाही गर्न पत्राचार गरेको हो । केन्द्रले सचिव आचार्यसँगै पूर्वखानेपानी मन्त्री महिन्द्र यादवका छोरा सुनिल अधिकारी यादव र सीडीई देवेन्द्र झालाई कारबाहीको लागि सिफारिस गरेको हो । केन्द्रका सचिव रामआधार साहको सचिव स्तरीय निर्णयअनुसार आवश्यक कारबाही गर्न आयोगलाई पत्राचार भएको हो ।

मन्त्रिपरिषद्को निर्णयबेगर कूटनीतिक राहदानी दुरुपयोग गरेर सचिव आचार्य अन्तर्राष्ट्रियस्तरको कार्यक्रममा सहभागी भएका थिए । गत माघ ४ देखि ६ गतेसम्म युएन ह्याबिट्याटको संयोजन तथा भारतको ओडिसा प्रान्तीय सरकारको आयोजनामा भएको ‘इन्क्लुसिभ डिसेन्ट्रलाइज्ड सेनिटेसन एन्ड अर्बन ट्रान्सफर्मेसन’ नामको सरसफाइ तथा शहरी रूपान्तरण सम्बन्धी कार्यक्रममा उनीहरू सहभागी भएका थिए ।

सम्बन्धित समाचार : मन्त्रिपरिषद्को निर्णयबिनै विदेश भ्रमण गएका सचिवमाथि अनुसन्धान हुँदै, राहदानी प्रयोग र हाजिरी माग

खानेपानी सचिव आचार्य मन्त्रिपरिषद्को निर्णयबिनै विदेश भ्रमण गएको र उनले कूटनीतिक राहदानी दुरुपयोग गरेको विषयमा यसअघि प्रशासनले समाचार प्रकाशित गरेको थियो ।

सम्बन्धित समाचार : खानेपानी सचिव आचार्यले जवाफ नदिएपछि सतर्कताको ताकेता, परराष्ट्र र अध्यागमनमा पत्र

विदेश भनेपछि हुरुक्कै हुने अधिकांश कर्मचारीको रोग हो । त्यसमाथि पनि सीमित माथिल्लो तहका कर्मचारीहरू जानै नपर्ने कामका लागि मरिहत्ते गर्ने, आफ्नो मनोनयन आफै गर्ने, सरकारले अस्वीकृत गर्दागर्दै बिदै लिएर पनि जाने चलन बढ्दो छ । यसले एक खाले अराजकता निम्त्याउँदै आएको छ, जसलाई बेलैमा नियन्त्रण गरी व्यवस्थित बनाउन ढिला भई सकेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस