नायग्रा फल्स, लण्डन, विण्डसरदेखि फ्रेडरिक्टनसम्म « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नायग्रा फल्स, लण्डन, विण्डसरदेखि फ्रेडरिक्टनसम्म


१० चैत्र २०८०, शनिबार


१० अगस्त २०२३ मै हामी हैमिल्टनबाट नायग्रा फल्स फल्समा पुगेका थियौ । हैमिल्टनबाट नियाग्रा फल्ससम्म बस, कार, ट्रेन आदि सवारी साधनबाट जान सकिन्छ । प्रति किलोमिटर तीन मिनेट लगाएर यात्रा गरे पनि ३.५ घण्टा समय लाग्दछ । आफ्नो गाडी हुँदा २.५ घण्टामा पुग्न सकिँदो रहेछ । लेन पालन गर्ने भएर पनि होला दुर्घटना भन्ने एकदमै कमै भएको पाइयो । अमेरिकाबाट सामान निकासी पैठारी हुने भएकोले पनि होला त्यो बाटो अलि व्यस्त जस्तै देखिन्थ्यो । हामी हैमिल्टनबाट निस्कनै ढिला भइसकेको थियो । त्यस दिन नायग्रा पुग्नै पर्नेमा भाञ्ज गिरीश पोखरेललाई भेट्ने समय दिएको थिए । उनी लण्डनबाट त्यहाँ आउने कार्यक्रम थियो । हामी नौ बजे सम्म नायग्रा पुग्ने र उनी पनि त्यहाँ आइपुग्ने भन्ने कार्यक्रम तय गरेका थियौँ । नियागरा क्यानडा र अमेरिकाको बोर्डरमा रहेको छ । यो क्यानडाको ओन्टारियो प्रदेश र अमेरिकाको न्यु वर्क राज्यको सिमाना पनि हो । त्यहाँ तीन वटा हर्ससु फल्स छ नायग्रा फल्सको अधिकांश भाग अमेरिकामा पर्दछ भने हर्षसुको भाग क्यानडामा पर्दो रहेछ । यसरी हेर्दा फल्स अमेरिकामा र भू भाग क्यानडामा पर्दो रहेछ । 

नायग्रा फल्स आज भन्दा १२ हजार वर्ष पहिले देखि नै बनेको रहेछ । यहाँको पानी विश्वको ठुला ताल इरी र ओन्टारियोमा पुग्दो रहेछ । इरी अमेरिका र क्यानडामा पर्दछ भने ओन्टारियो ताल क्यानडामा पर्दो रहेछ । नायग्रा अमेरिकाको पश्चिम भागमा पर्दछ । यो बफेलो महानगर भित्र नायग्रा भन्ने स्थानमा पर्दछ । नायग्रा काउन्टीको २०२० को जनगणना अनुसार ४८६७१ जनसङ्ख्या रहेछ । भानिज आउने भनेर हामी सोझै नियागरा पुगेका थियौ । भान्जा आउन ढिला भए पश्चात् हामी नायग्रा नजिकै नेपाली निराजन थापाको घरमा गयौ । त्यहाँ फेडरिकटन मै रहनु हुने सुनिल घिमिरे र पूजा दाहाल साथै सानी छोरी प्रतिष्ठा पनि थिए । उनीहरूसँग भेट्दा नातिनी औधी खुसी भइन । २ वर्ष नपुगेकी नातिनीलाई खुसी पार्नु पनि हाम्रो कर्तव्य र जिम्मेवारी पनि थियो । घिमिरे पनि काठमाडौँ बिश्वबिद्यालयबाट स्नातक गरेर त्यहाँ पुग्नु भएको रहेछ । 

उहाँ पनि सूचना प्रविधिमा अब्बल हुनुहुँदो रहेछ । रातको झण्डै ११ बज्दै थियो भानिज र उनका २ जना साथिहरुसहित नायग्रा पुगेछन् । फेरी उनीहरूलाई भेट्न ज्वाइँ हामी बुढाबुढी र सुनिल घिमिरे सहित पुग्यौ । बेलुका लाइटहरू विभिन्न रङबाट प्रक्षेपण गरिँदो रहेछ । त्यसैले बेलुकाको समयमा लाइटको अतासबाजी हेर्नेहरूको जमात पनि बाक्लै देखिन्थ्यो । भानिजसँग भलाकुसारी गर्दै नदी किनारको मनोरम दृश्य अवलोकन गरियो । रोटेपिङ खेल्ने भनेर ज्वाइँले टिकट काटी सक्नु भएको रहेछ । रोटे पिङको मजा लिंदै गफगाफ गर्दै रह्यौ । भानिजलाई हामीसँगै जान आग्रह गरयौ तर साथीहरूसँग भएकोले लण्डननै फर्कने निधो गरे । अन्ततः हामीहरू छुट्टियौँ । आआफ्नो वासस्थानतर्फ लाग्यौँ । नीराजनको घरमा उहाँको परिवार सुस्मिता नेपाल र एउटा बाबु पनि थिए । सुस्मिता पनि नर्सिङ पेसामा हुनुहुँदो रहेछ । त्यहाँ अरु नेपाली पनि हुनुहुन्थ्यो ।

११ अगस्त २०२३ मा बिहान नायग्रा फल्सतिर लाग्यौ पानी आउने बन्द हुने भइरहेको थियो । नायग्रामा फल्स हेर्न जानेहरूको घुइँचो नै हुँदो रहेछ । हामीहरू पनि प्रत्यक्ष रूपमा सहभागी हुन अगाडि बढ्यौ । सुनिल जीको परिवार र हाम्रो परिवारका साथै अन्य नेपालीहरू पनि हुनुहुन्थ्यो । सानो सामुन्द्रिक जहाजमा चढेर झण्डै १.५ घण्टाको समय बिताइँदो रहेछ । क्यानडाबाट चढ्नेले रातो रेनकोट र अमेरिकाबाट चढनेहरु निलो रेनकोट लगाएर जहाजमा  चढ्दा रहेछन् । नायग्रा नदीमाथि जहाजमा घुमिरहँदा हर्षसुबाट फल्सहरू प्रवाह अलि रोमाञ्चकारी हुँदो रहेछ । कहिले अमेरिकाको बोर्डरमा कहिले क्यानडाको बोर्डरतर्फ जहाज लगिँदो रहेछ । हर्षसुको झरनाले हुस्सु लागेको जस्तो हुने शीतलता प्रदान गर्ने बढो रोमाञ्चित गराउँदो रहेछ । नायग्रा फल्सको रमाइलो पश्चात् पुनः नीराजनकै घरतर्फ लाग्यौ । बिहानको आतिथ्यता पनि उहाँकै घरमा रह्यो । 

खाना पश्चात् हामीहरू लण्डन जाने कार्यक्रम रह्यो । लण्डन एउटा यस्तो शहर हो जहाँ आदिबासीहरुको बसोबास रहेको छ भन्ने सुनेको थिए । यहाँका आदिबासीहरुको आफ्नै भाषा संस्कृति र परम्परागत भूमि रहेको शहर पनि हो । यो शहर पनि ओन्टारियो प्रदेश अन्तर्गत नै पर्दछ । हामीहरू अपराह्न ४ बजेतिर लण्डन प्रवेश गरेका थियौ । ज्वाइँको साथी हरिबहादुर थापाकोमा बस्ने निधो भैसकेको रहेछ । सुनिल जीहरूको परिवार र हाम्रो परिवार सबै त्यही बस्यौ । डाउन टाउन, कलेज चर्चहरूको पनि अवलोकन गरियो । अन्य नेपालीहरूसँग पनि भेटघाट भयो । नेपाली संस्कृति र नेपाली खानासँगै त्यस दिन पनि रमाइलो सँग नै बित्यो । 

१२ अगस्त २०२३ को दिन हामीहरू विन्डसर ज्वाइँको साथी अर्थात् सिनियर दाइ रमेश थापाकोमा जाने र सुनिल जीहरू नेपाली मूलका भुटानीहरुकोेमा जाने कार्यक्रम थियो । बिहानको खाना पछि हामी विन्डसर तिर लागेका थियौँ । विन्डसर नयाँ शहरको रूपमा विकास भइरहेको रहेछ । २०२१ को जनगणना अनुसार त्यहाँ २२९६६० रहेछ । त्याहा औद्योगिक प्रतिष्ठानहरू पनि रहेछ । लण्डन र किचनर पछि बढी जनघनत्व भएको शहर रहेछ । यो डेट्रोइट नदी किनारको शहर पनि हो । डेट्रोइट नदीमा बनिरहेको पुललाई  एम्बासडर ब्रिजको रूपमा पनि लिँदा रहेछन् । 

क्यानडाबाट अमेरिका आवत जावत गर्न उक्त नदीको मुनिबाट र माथिबाट पनि पुल रहेछन् । सोही पुलको काममा रमेश जी ले पनि काम गर्नुहुँदो रहेछ । उहाँ त्रिभुवन बिश्वबिद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानको प्राध्यापक पदबाट राजीनामा दिएर पुग्नु भएको रहेछ । अमेरिकाको मिचिगन र क्यानडा ओन्टारियोको विन्डसर भएर बग्ने उक्त नदीको पानी विश्वको ठुलो ताल मध्ये इरी र ओन्टारियो तालमा पुग्दो रहेछ । हामीहरू रमेशजीकोमा पुग्नसाथै खाजा खाने कार्यक्रम रह्यो । मिठो खाजा पछि हामीहरू इरितालतर्फ लाग्यौ । बेलुका भई सकेकोले हतार हतार गरेर इरि ताल हेर्न पुग्यो उक्त स्थान क्यानडाको सबैभन्दा दक्षिणी भाग पनि रहेछ । हामी इरीतालको टापुमा पुगेर फोटोहरू पनि लियौँ नेपाली मूलका भुटानीहरूको बस्ती पनि त्यो शहरमा बाक्लै रहेछ । 

विन्डसरको अर्को रमाइलो पक्ष झण्डै ४० । ५० कि.मि.वाइण्ड मिलहरू रहेछन् । स्थिर हावाको बहावका कारण पनि वाइण्ड मिलहरू राखिएको होला । व्यक्तिले आफैले वाइण्ड मिल राखे पनि आफूले प्रयोग गरेभन्दा बढी बिजुली ग्रिडमा जडान गरिँदो रहेछ । वन्यजन्तुहरूको लागी पनि विशेष सुरक्षा व्यवस्था अपनाइएको रहेछ । हाइवेमा वन्यजन्तु हिंडने बाटोमा पुलहरू बनाउँदा वन्यजन्तु मैत्रीको हिसाबले बनाइएको रहेछ । उनीहरू हिंडने पुलमा घाँसहरू बिरुवाहरूको पनि व्यवस्था गरिँदो रहेछ  । 

ठुला ठुला कृषि फार्महरू पनि त्यतिकै रहेछन् । बेलुका नेपाली स्वादिष्ट खाना पछि नदी किनारमा पुगेर रमाइलो हेर्ने कार्यक्रम थियो । रमेश जिको मिसेज दिव्या के.सी उहाँको छोरी र हामीहरू नदी किनार तर्फ पुग्यौ । बेलुका अमेरिकाको मिचिगनमा अतासबाजी गर्दा रहेछन् । उक्त नदीमा पानी जहाज पनि चल्दो रहेछ । नदी किनारमा बनेका पार्कहरूले पनि रमाइलो बनाएको थियो । जे होस त्यस दिनको भरपुर मजा लिन सक्यौ । बेलुका आरामदायी विश्राम पछि बिहानै खानाको व्यवस्था गर्नु भएको रहेछ । अब फ्रेडरिक्टन फर्कने बेला भइसकेको थियो । हामीहरू त्यस दिन झण्डै ७०० कि.मि. पार गर्नु थियो । सुनिल जीहरूको परिवार र हाम्रो परिवार सँगै फर्कने कार्यक्रम राखेका थियौँ । 

हामी बेलुका पुग्दा झण्डै ११ बजेको थियो । ड्राइभिङको थकानले होला ज्वाइँले छिनछिनमा मुखमा र आँखामा पानी छ्याप्दै हिडनु हुन्थ्यो । बेलुका किंग्स्टन इण्डियन होटेल रमादामा बसाई थियो थकाइले बेजोड भएको थियो । खाना लिएर कोठामै गयौँ । खाना खाई विश्राम लिएका थियौँ । १४ अगस्त २०२३ को दिन हामी किंग्सटनबाट फ्रेडरिक्टन पुग्ने कार्यक्रम भएकोले झन् बढी हिडनु पर्ने थियो । झण्डै १४ घण्टासम्म ड्राइभिङ गरे मात्र पुग्ने अवस्था थियो । करिब १८०० कि.मि. पार गर्नु थियो । त्यसैले बिहान ५ बजे नै हिडने तरखर गरेका थियौँ तर हिंडदा ७ बजिसकेको थियो । 

बाटोमा हिँड्दै जाँदा निद्राले घरी घरी च्याप्ने गर्दथ्यो । अगाडिको सिटमा बसेर निधाउन पनि भएन । सबैले अनिवार्य सिटबेल्ट बान्नै पर्दथ्यो । अन्यथा २५० डलर जरिवाना तिर्ने नियम छ । पानीले मुख धुँदै आँखा हेर्दै अगाडि बढ्यौ । बाटोमा मुसलधारे पानी परयो । अगाडि पट्टी केही नदेखिने । सायद त्यस्तो बर्षात हामी कसैले पनि देखेका थिएनौ । झण्डै १ घण्टासम्म सुस्ताउँदै सुस्ताउँदै बल्ल तल्ल बेलुका १० बजेतिर सुनिलजीको घरमा पुग्यौ । त्याहा एक जना नेपाली बहिनी प्रमीला अधिकारी पोखरेल हुनुहुन्थ्यो । खाना बनाउनु भएको रहेछ । खाना खाइवरी हामी झण्डै ११.३० मा घरमा पुग्यौँ । १० दिनको यात्राले धेरै अनुभूति शिक्षा मनोरञ्जन र ज्ञान दिलायो । धेरै कुराहरू सिक्ने मौका मिल्यो ।

सम्बन्धित : फ्रेडरिक्टनदेखि क्यूबेक
सम्बन्धित : क्यूबेकदेखि मन्ट्रियल-ओटावासम्म
सम्बन्धित : ओटावा, टोरण्टो र अफ्रिकन लायन सफारी

Tags :
प्रतिक्रिया दिनुहोस