ओटावा, टोरण्टो र अफ्रिकन लायन सफारी « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

ओटावा, टोरण्टो र अफ्रिकन लायन सफारी


२९ फाल्गुन २०८०, मंगलबार


ओटावाबाट ९ अगस्त २०२३ मा हामी बिहान टोरन्टो तर्फ लागेका थियौँ । हामीले बाटोमा खासगरी फ्रेडरिक्टनदेखि नै टिमोटनलाई चिया कफी खाने ठाउँ रोजेका थियौ । टिमोटनमा फास्ट फुड शौचालय आदिको कारणले पनि त्यहाँ हाम्रो रोजाइ हुन्थ्यो । गाडीमा जिपिएस जडान हुने भएकोले कहाँदेखि कहाँ जाने भन्ने सम्बन्धमा ट्रयाकिङ गर्दै जान्थ्यौँ । राजमार्गमा काहीँ कतै पनि रोकिनु पर्दैनथ्यो । 

१०० भन्दा माथि १२० सम्मको स्पिडमा गाडी दौडिरहन्थ्यो । उक्त दिन बिहान हामी टोरण्टोमा विद्या कार्कीको घरमा खाना खाने कार्यक्रम थियो । उहाँले नेपाल राष्ट्र बैंकको जागिर छाडेर क्यानडा प्रवेश गर्नु भएको रहेछ । घरमा उहाँको बुवा आमा सहितको परिवारलाई भेट्ने मौका मिल्यो । सहयोगी र सहृदयीको हिसाबले पनि उहाँ अब्बल हुनुहुँदो रहेछ । नेपाली कल्चरलाई त्यहाँ पनि फेला पार्न भ्यायौँ । बिहान खानपछि हामी टोरण्टोको मुख्य बजार डाउन टाउन तर्फ अगाडि बढेका थियौँ ।

हामीले ओन्टारियो ताललाई पनि हेर्ने जमर्को गरेका थियौँ । विश्वका ठुला तालमध्ये ओन्टारियो ताल पनि एउटा हो । टोरण्टो पुगे पछि एक्वारियम हेर्ने अवसर जुर्‍यो । आन्ध्र महासागरमा पाइने माछा प्रजातिका सम्पूर्ण जीव जन्तुहरूको एक्वारियम भित्र कैद गरिएको रहेछ । सामुन्द्रिक जीव जन्तुहरूको सचित्र बणर््ान गरिएको रहेछ । नातिनी माछा देखेर कहिले गाडा बनेर हेर्थिन् त कहिले खुसी बन्थिन् । त्यसमा हामी पनि रमायौँ नै ।  

टोरण्टो विश्वको व्यापारिक दृष्टिकोणले पनि महत्त्वपूर्ण शहर हो । यहाँ विभिन्न किसिमका गतिविधिहरू हुन्छन् । यो शहर बहुसाँस्कृतिक हिसाबले अवस्थित छ । यो शहर कला, बहुसाँस्कृतिक पहिचानका साथै आर्थिक दृष्ट्रीकोणले पनि माथि रहेको छ । यहाँ अन्तर्राष्ट्रिय विमान स्थल मध्येको ठुलो विमानस्थल पनि छ । टोरण्टोको डाउन टाउनमा पुगेपछि त्यसको वरिपरि हेर्ने एउटा भाग रहेछ । टोरण्टो भन्ने उल्लेख गरेको स्थानमा फोटो पनि लियौँ । सडक छेउमा पार्किङको समस्या भएकोले पनि ज्वाइँ गाडी वरपरी घुमाइ रहनु भयो छोरीले त्यहाँ वरी परीको स्थानलाई फोटोमा कैद गरिन । 

मौकाले ५५३.५ मिटर अग्लो सिएन टावरको पनि अवलोकन गर्न पाइयो । उक्त टावरमा चढ्न टिकट काटी सके पछि झण्डै एक घण्टा पर्खनु परयो सायद हामीहरू त्यस दिनको अन्तिम अवलोकन कर्ता थियौँ । उक्त टावर संसारकै अग्लो टावरको रूपमा लिँदा रहेछन् । उक्त टावरको माथिल्लो भागमा पुग्न लिफ्ट चढेर जान सकिँदो रहेछ । टावरको माथिल्लो भागमा रेस्टुरेन्ट पनि सञ्चालन गरिएको रहेछ । टावरमा नातिनी , ज्वाइँ हामी बुढाबुढी गएका थियौँ । 

टोरण्टोको ओन्टारियो ताल र ओन्टारियोको वरपरको भाग अवलोकन गर्ने मौका यसै टावरले दियो । सयौँ तले घर पनि फुच्चे देखिए । टावरको माथिबाट फन्को मारी मारी हेरयौं । छोरी ग्राउन्डमै बसेकोले उनको नियास्रोको लागी पनि हामी चाँडै ओर्लियौँ । सी.एन टावरबाट ओर्ले पछि गाडी पार्किङ गरेको स्थान तर्फ गयौँ । घरका बेशमेन्टमा गाडी पार्किङको व्यवस्था गरिँदो रहेछ । ठुला ठुला बेशमेन्टहरु । हामीले पार्किङ गरेको बेशमेन्ट खोज्ने क्रममा अलमलियौँ । गाडीको चापले होला बाटो जामको समस्या त्यहाँ भोग्यौ । अरूको घरमा जाने कार्यक्रम त रह्यो तर ढिला हुने भयो भनेर अलि बढी चिन्तित जस्तो पनि भयौ । घरमा भएका बाबु नानीहरूलाई केही किनेर लगिदिन पनि समयले चापी रहेको थियो । पसल पनि जहाँ मन लाग्यो त्यही नहुने बल्ल तल्ल एउटा इण्डियन पसल फेला परयो त्यहीबाट कोसेली लियौ । हामी स्कारब्रो गोविन्द वाग्लेकोमा जाने कार्यक्रम थियो । वहाँ नेपाल सरकारको हाइवे इन्जिनियरको रूपमा १० वर्ष जति काम गरेपछि उपसचिवबाट राजीनामा दिएर क्यानडा पुग्नु भएको रहेछ । अपार्टमेन्टको १९ औँ तलामा वहाले अपार्टमेन्ट लिनु भएको रहेछ । त्यस दिनको बसाई त्यही रह्यो । ओन्टारियो भित्र रहेको यो अर्को बसोबास योग्य शहर पनि हो । सरल र सहज प्रकारको व्यक्तित्वको रूपमा त्यो परिवार पायौँ । 

१० अगस्त २०२३ को गन्तव्य नियागरा फल्ससम्म पुग्ने थियो । बिहान ब्रास्टन अर्को बसोबास योग्य सहरमा रहनु भएकी सुमन र निर्मला पौडेलको घरमा खाना खाने कार्यक्रम थियो । छोरीको साथी निर्मला र ज्वाइँको काकाको छोरा बुहारी पनि भएकोले हामी त्यहाँ जाने कार्यक्रम थियो । सुमन ठंडरवे भन्ने अर्को सहरमा मास्टर डिग्री गर्दै हुनु हुँदो रहेछ । निर्मला अस्पतालमा सरकारी नर्सको रूपमा कार्य गर्नुहुँदो रहेछ । निर्मला सुमनको पुग्नु भन्दा अगाडि मेरा एक जना मित्र श्याम सुन्दर पोखरेलकोमा पुग्ने कार्यक्रम थियो । उहाँ आज भन्दा २८ वर्ष पहिले नै त्यहाँ पुग्नु भएको रहेछ । 

काठमाण्डौमा बस्दा एउटै कलेज र सँगै डेरामा बसेको कारणले पनि उहाँले क्यानडा नपुग्दै देखी घरमा भेट्न आग्रह गर्नु भएको थियो त्यसैले पनि उहाकोमा मात्र भेटघाटको लागी पुगियो त्यही स्कारब्रोमा । नातिनीलाई कोसेली दिनु भयो । भारती भाउजू काममा जानु भएको रहेछ संयोगले भेट हुन पाइएन । हामी बिहानको खाना पछि अफ्रिकन लायन सफारी हेर्ने कार्यक्रम बनाएका थियौँ । टोरन्टोबाट १०० कि.मि टाढा दक्षिणी भागमा पर्ने हयामिल्टन भन्ने सहरमा पर्दो रहेछ । हयामिल्टन एउटा बन्दरगाह शहर हो । यो सहरको जनसङ्ख्या २०२१ को जनगणना अनुसार ५६९३५३ रहेछ । जर्ज हयामिल्टनले १८१२ को युद्ध पछाडि यसलाई प्राप्त गरेका रहेछन् । 

ग्रेटर टोरण्टोको रूपमा यसलाई विकास गरिएको रहेछ । यो सहरलाई पनि अर्वन र मेट्रो दुवै प्रकारले हेर्न सकिँदो रहेछ । जे होस हयामिल्टनमा हाम्रो उद्देश्य भनेकै अफ्रिकन लायन सपारी हेर्ने नै हो । ३०० हेक्टरमा फैलिएको उक्त सफारीमा यात्रुहरूले आफ्नो गाडी भएमा गाडीको झ्याल नखोली हेर्नु पर्दो रहेछ । यदि गाडी लिएर गएमा उसको आफनै रिस्कीको रूपमा लिँदा रहेछन् । उक्त स्थानमा एकसिगे गैँडा, दुइसिंगे गैँडा , सिंह, बाघ, जिराफ , हिमाली भागमा पाइने एक प्रकारको भैँसी, भेडा जातका जन्तुहरू आदि धेरै प्रकारका जनावरहरूलाई कुनै खोर भित्र नराखी खुल्ला रूपमा राखिएको रहेछ । प्रकृतिका आफ्ना नियमहरू छन्, जसलाई आफ्नो तरिकाले विचरण गर्न दिनु पर्दछ । सायद त्यसैले पनि होला यसलाई खुल्ला चिडियाखानाको रूपमा विकास गरिएको रहेछ ।

कुनै ढुङ्गा मुनी कुनै ढुङ्गा माथि बसेका सिंह । नेपालको तराई भूभागमा पाइने एक सिङे गैँडा देख्दा पनि अचम्म लाग्यो ।

जिराफको लामो घाँटी र हामीले यस पूर्व कहिल्यै नदेखिएका जनावरहरू देख्दा पनि मन रमाएकै हो । यस भित्र पार्क , रेस्टुरेन्ट, बच्चाहरू खेल्ने ठाउँ आदि व्यवस्थित तरिकाले निर्माण गरिएको रहेछ ।

सफारी पार्क पश्चात् हामी बच्चाहरू खेल्ने पार्कतिर लाग्यौँ । साना साना नानीहरूलाई पानीका फोहरा, तैरने खेल्ने आदि बनाएको रहेछ । नातिनी मज्जैले त्यसमा रमाइन । पोखरीमा बोटिङमा पनि रमायौ ।  हामीलाई त्यति बेला पनि लाग्यो नेपालमा साना साना नानीहरूलाई खेलाउने रमाउने सुरक्षित त्यस्ता ठाउँहरू कहिले बन्ला ? मनमा खुलदुली लिँदै अगाडि बढयौं ।

(नियाग्रा फल्स, लण्डन र विन्सरको रमाइलो यसपछि)

Tags :
प्रतिक्रिया दिनुहोस